काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको तयारी नगरेर संविधान संशोधनको कुरा ल्याएको बताएका छन् । अनेरास्ववियुले आज यहाँ ‘महिला हिंसा अन्त्यका लागि साझा प्रतिबद्धता, संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता’ विषयको विचारगोष्ठीमा उनले निर्वाचन तयारी नगरेर सरकारले बिना कारण संशोधनको कुरा उठाएको बताए।उहाँले संविधान संशोधन अन्यका लागि नभई निर्वाचनका लागि गर्न सकिने धारणा राखे।
“कुन धाराले निर्वाचन गर्न दिएन । त्यो धारा संशोधन गरेर निर्वाचन गर्न बाधा फुकाऔँ”–उनले भने“तर देशलाई आँच आउने खालको कुरालाई संशोधन गर्न सकिन्न ।” उनले राष्ट्रिय स्वाधीनता, एकता, लोकतन्त्र र देशलाई समृद्धितर्फ लैजाने कुरामा तलमाथि हुन नदिने भन्दै आवश्यक परे सङ्घर्ष गर्न पनि तयार रहेको धारणा राखे । पूर्वप्रधानमन्त्री ओलीले पुर्खाले बनाएको देशलाई आफ्नो पालामा कसैले पनि बिर्गान नसोच्न आग्रह गरे । “अहिलेसम्म पुर्खाले देशलाई जोगाएका छन्”–उनले भने, “यो संसद् हामीले बनाएको हुनाले देशलाई तलमाथि हुन दिदैँनौँ ।” उनले आफू देश र जनताका लागि लडिरहनु पर्ने भएकाले राजनेता भएर बस्न नसक्ने बताए । “देशमा स्वाभीमान र थिचोमिचोका विरुद्ध विभिन्न क्रियाकलाप भइरहन्छ”–उनले भने, “यस्तो बेला चुप लागेर म राजनेता भएर बस्न सकिन्न । त्यसैले राजनेता हुने मलाई मन छैन ।”
उनले अहिलेको ३३ प्रतिशत महिलाको आरक्षण पुरानो भइसकेको भन्दै आरक्षणलाई बढाउनुपर्नेमा जोड दिए। उहाँले संविधानमा महिला अधिकार कुरा उल्लेख गरिएपनि महिलालाई सशक्तीकरण, नेतृत्वदायी र उत्तरदायी भूमिकामा सहभागिता बढाउनुपर्ने धारणा राखे । एमाले केन्द्रीय सदस्य सावित्री भुसालले पार्टीले महिला हिंसाविरुद्ध आचारसहिंता बनाएको उल्लेख गदै सबै महिला हिंसा अन्त्य गर्न एकजुट हुनुपर्ने बताए।
राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले महिला हिंसा अन्त्य महिला र पुरुषले मिलेर गर्नुपर्ने बताइन । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अमृता थापामगर, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, अनेरास्ववियुकी अध्यक्ष नविना लामालगायतले महिला हिंसा अन्त्य गर्न सबै राजनीतिक दलले एउटै एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। रासस