तरहरा/पारिवारिक झगडामा चिर्पट प्रहारबाट बक्लौरी–१ का कृष्ण गौतमको मृत्यु भएको छ । मङ्गलबार उनको मृत्यु भएपछि प्रहरीले हत्याको अभियोगमा उनका छोराहरु र श्रीमतीलाई पक्राउ गरेको छ । शवमा दागबत्ती दिन उनीहरुलाई अनुमति दिनुपर्ने माग गर्दै बक्लौरीवासीले प्रहरी कार्यालयअगाडि शव राखेर बुधबार प्रदर्शन गरेका हुन् । छोराहरु सन्देश र सुवासको झगडा छुट्याउने क्रममा चिर्पट लागेर कृष्णको मृत्यु भएको स्थानीय बताउँछन् ।
सबै मिलेर हत्या गरेको भन्दै प्रहरीले परिवारका सदस्यहरुलाई फँसाउन खोजेको आरोप स्थानीयको छ । शव जलाउनसम्म नदिइएको भन्दै उनीहरुले बुधबार साँझ पकलीको इलाका प्रहरी कार्यालयअगाडि सडकमै शव राखेर प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् ।बक्लौरीका उपेन्द्र कटुवालले हिन्दू परम्पराअनुसार प्रहरीकै सुरक्षामा भए पनि शव जलाउन दिन आग्रह गरेको भए पनि प्रहरीले अव्यावहारिकता देखाएको बताए । ‘झगडामै कृष्णको मृत्यु भएको हो, दोषीलाई कारवाही हुनुपर्छ’, उनले भने, ‘यो हाम्रो पनि माग हो तर लाश जलाउन चाहिँ देऊ भन्दा पनि प्रहरीले नमानेको कारण गाउँले प्रदर्शनमा उत्रिनुपरेको हो ।’ प्रहरीले तीनैजनालाई पक्राउ गरेपछि दागबत्ती दिन परिवारका कुनै सदस्य नभएका कारण समस्या आएकोले प्रदर्शन गर्दा प्रहरीले उल्टै सर्वसाधारणमाथि लाठीचार्ज गाउँलेले बताए । बुधबार साँझसम्म उनीहरुले प्रदर्शन गरेका थिए ।
प्रहरीले घटनालाई अतिरञ्जित बनाउन खोजेको कटुवालको भनाइ छ ।बक्लौरीका स्थानीय अगुवाहरु रेवतीरमण दुलाल, मोहन रिजाल, कमल वस्ती, शिवशंकर राजधामीलगायतका नेताहरुसमेत प्रदर्शनमा आएका थिए । उनीहरुले शव जलाउन केही समयका लागि हिरासतबाट घाटसम्म जान दिनुपर्ने माग गरे । मार्ने योजना नभई भवितव्य भएको गाउँलेको भनाइ छ ।कृष्णका छोराहरु सन्देश, सुवास र श्रीमती कल्पना गौतमलाई मङ्गलबार नै पक्राउ गरी मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शान्तराम कार्कीले बताए । मृतकका दाजु यज्ञबहादुर गौतमले मङ्गलबार नै दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरी ज्यान मुद्दा दायर गरिएको उनले जनाए । कार्कीले भने, ‘कृष्णको मृत्यु पारिवारिक योजनामा भएको हो ।’
यज्ञबहादुरले दुई छोरा र बुहारीले आप्mना भाइलाई मारेको उजुरी दिएको प्रहरीको भनाइ छ । गाउँलेले भने मृतकका दाजुलाई प्रहरीले जबर्जस्ती सही गराएको आरोप लगाए ।