तेह्रथुम/यस वर्ष अलैंचीको मूल्यले जिल्लाका किसान र ब्यापारीलाई घाटा गराएकोे छ ।अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग नहुँदा जिल्लामा दुई वर्षयताकै सस्तो मूल्यमा अलैँची किनबेच भएपछि किसान र ब्यापारीलाई घाटा भएको हो ।
बजारमा अलैँची निस्कन थालेदेखिनै मूल्यमा निरन्तर गिरावटले अलैँची उत्पादक किसान र व्यवसायीलाई घाटा भएको किसान राम प्याकुरेलले बताए । तेह्रथुमको मुख्य नगदेबालीको रूपमा रहेको अलैँची यो वर्ष बजारमा अहिले प्रतिमन (४० केजी) ३५ हजार रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य जिल्लामा दुई वर्षयताकै सस्तो हो ।
यसअघि किसानले प्रतिमन ९५ हजार रूपैयाँसम्ममा बिक्री गरेका थिए । मूल्य पर्खिएर बस्ने ठूला तथा साना ब्यापारीहरू भने अहिलेको मूल्यले निराश हुनु परेको अलैँची ब्यापारी तथा सङ्घका सचिव तुलसी ढकालले बताए । उनका अनुसार जिल्लामा ५ करोड मूल्य बराबरको अलैँची एउटै ब्यापारीले थन्काएर राखेका छन् ।शुरु सिजनमा अन्तर्राष्ट्रिय बजारमा समेत अलैँचीको माग हुने गरेपनि अहिले कारोबार मन्दी भएकोले मूल्य सस्तो भएको ब्यापारीहरू बताउँछन् ।
दुई वर्ष अघिदेखि मूल्य पर्खेर बसेका किसान र ब्यापारीहरूलाई करोडौं घाटा भएको उनीहरू बताउँछन् । शुरु सिजनमै अलैचीले राम्रो मूल्य पाउने आशमा ब्यापारीहरुले बगानमै गएर महङ्गो मूल्यमा किनेको भएपनि राम्रो मूल्य पर्खेर बसेका ब्यापारीलाई भने यो मूल्यले निराश बनाएको अलैँची व्यवसायी सङ्घ जिल्ला अध्यक्ष अमृत सुवेदीले बताए ।
अहिले जिल्लामा अलैँचीका ब्यापारी समेत बढेकाले मूल्य बढ्ने आशमा अलैँची बगानमै पुगेर किन्ने ब्यापारीहरूलाई समेत घाटा भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष तेह्रथुममा २ सय २० मेट्रिक टन अर्थात् ४६ करोड २० लाख रूपैयाँभन्दा बढीको अलैंची उत्पादन भएको थियो ।
दुई वर्षअघि अलैँची प्रतिमन १ लाख १२ हजार रुपैयाँसम्ममा किनबेच भएको थियो । तेह्रथुमसहित पूर्वी नेपालमा उत्पादित अलैंची हुदै श्रीलङ्का, बङ्गलादेश र खाडी मुलुकसम्म पुग्ने गरेको अलैंची व्यवसायीहरूले बताएका छन् ।
विशेषगरी मसला, औषधी र सेन्ट निर्माणका लागि अलैंची अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । जिल्लाको दुई नगरपालिका र ४ गाउँपालिकाका विभिन्न वडामा गरी जम्मा ६ सय २७ हेक्टर जग्गामा अलैंची उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत रोहिणिराज घिमिरेले बताए ।