ताप्लेजुङ/जेठ ३१ गते हुन लागेको स्थानिय तह निर्वाचनका लागि ताप्लेजुङका राजनीतिक दलहरूले ११ बुँदे साझा प्रतिबद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काको अग्रसरतामा भएको बैठकले निर्वाचनलाई मर्यादित र भयरहित बनाउन सबै दलले आपसी समन्वय र सद्भाव कायम गर्ने सहमति भएको छ ।
स्थानीय तहको निर्वाचनमा सबै दल, निर्वाचनमा खटिएका कर्मचारी लगायत स्थानीय प्रशासन एवम् सुरक्षा निकायबीच आपसी सम्मान, सद्भाव र समन्वय कायम गरी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ ।
भेलामा स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ लाई पूर्णरूपले पालना गर्ने, आ–अाफ्ना दलका कार्यकर्तालाई अत्यन्तै संयमित बनाएर प्रचार–प्रसारमा परिचालित गर्ने, अन्य दलको कार्यक्रम तथा प्रचार–प्रसार कार्यमा खटिएका कार्यकर्ताको सम्मान गर्दै एक अर्को दलको झण्डा तथा प्रचार सामग्रीलाई नष्ट नगर्ने र एकअर्को दलका नेता तथा कार्यकर्तालाई अपमानजनक व्यहार नगर्ने प्रतिबद्धता जनाइएको छ ।
भेलामा निर्वाचन प्रचारप्रसारको क्रममा गरिने चुनाव भेला, जुलुस, रयाली जस्ता एकै ठाउँमा र एकै समयमा गर्ने तथा एकअर्काको कार्यक्रम बिथाल्ने, डर–त्रास फैलाउने एवम् मतदातालाई अनुचित दबाव दिने र प्रभावमा नपार्ने प्रतिबद्धता दलहरूले जनाएका छन् ।
दलहरूले आ–अाफ्ना दलको चुनावी भेला हुने स्थान, मिति र समयका बारेमा प्रशासनलाई अनिवार्य जानकारी दिने, स्थानीय तह निर्वाचनको विरोध गर्ने पक्षको प्रतिरोध गरी निर्वाचनविरोधी गतिविधिलाई निस्तेज पार्न सहयोग गर्ने र निर्वाचनको क्रममा प्राप्त भएका सूचना स्थानीय प्रशासनलाई उपलब्ध गराउने गरी दलहरूले प्रतिबद्धता जनाएका छन् ।
भेलामा मतदानपूर्व, मतदानको समय र मतदान पश्चात् लागू हुने निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइएको छ । निर्वाचन प्रचारप्रसारको क्रममा अवाञ्छित तथा गैरकानूनी काम गर्ने व्यक्तिलाई कानूनबमोजिम कारवाही गर्न सहयोग गर्ने, आ–अाफ्ना राजनीतिक दलका कार्यकर्तालाई कानूनले निषेध गरेका तथा घरेलु हातहतियारहरू लिएर हिँड्न नदिने प्रतिबद्धता जनाएका छन् ।
यस्तै जेठ २ गते मङ्गलवारबाट बेलुकी ७ बजेदेखि खुल्लारूपमा मदिरा बिक्रीमा प्रतिवन्ध लगाउन तथा २७ गतेबाट मतगणना कार्य सम्पन्न नभएसम्म मदिराको बिक्री वितरण पूर्णरूपमा बन्द गर्न दल र स्थानीय प्रशासनबीच समझदारी भएको छ ।यी सबै कार्य गर्न दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा प्रत्येक दलबाट एक–एकजना सम्पर्क व्यक्ति उपलब्ध गराउने भएका छन् ।