प्रदेश– १ को धेरैजसो ठाउँहरूमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ भन्दा फरक पर्दैन । सडक व्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरी कमाउ धन्दामा बढी केन्द्रित भएको जनगुनासोहरू सुन्नमा पाइन्छ । आखिर किन यस्तो भइरहेको छ त ? सडकमा सवारी दुर्घटनाको कारण ज्यान गुमाउनेको सङ्ख्या दिनहुँ बढ्दो छ । तर सडक दुर्घटनाको विषयमा गम्भीर भई कारण खोज्नुको साटो ट्राफिक प्रहरी चाडपर्वमा जरिवाना काट्न रातो बिल लिएर सडकमा जनतासँग दिनहुँ निहुँमात्र खोजिरहेको देख्न सकिन्छ ।
 
कुनै नयाँ कार्यालय प्रमुख आए लगत्तै सडकमा ट्राफिक प्रहरीको तामझाम शुरु हुन्छ तर एक वर्षमा कुनै नियम पालना हुँदैन, अन्ततः प्रमुखहरू प्रहरीकै भाषामा खोका लिएर कुम्लोकुटुरो बोकेर बाटो लाग्छन त्यो वर्षेनी हुन्छ । अहिले चाडवाडको समय पारेर देशको विभिन्न ठाउँको  सडकमा मनपरी ढङ्गबाट चेकिङ भइरहेको छ । जसले जहाँ पायो त्यहाँ चेकिङ गरिरहेका छन् । ट्राफिक पोस्टदेखि जिल्ला हुँदै क्षेत्रको चेकिङले सर्वसाधरण हैरान छन त्यो यथार्थ हो । यसरी एक किलोमिटरमा एउटा चेकपोस्ट थापेर के जनतालाई दुःख दिन खोजेको हो ? या चाडवाडमा कमाइखाने भाँडो बनाउन लागेको ? सडकमा जरिवाना काट्दैमा के सवारी दुर्घट्ना रोकिएला ? अभियुक्तहरू ५ सयदेखि एक हजारसम्म जरिवाना सकडमै काटेर छुट्ने प्रचलनले सवारी दुर्घटना कसरी रोकिएला ?  सडकमा काट्ने ट्राफिकको बिल कस्ले छपाउँछ ? यो प्रश्न अब गम्भीर हुन सक्छ । ट्राफिकको मनपरी चेकपोस्टसँगै कतै जरिवानावापत् थमाउने रसिद पनि दुई नम्बरी त छैन ? हैन भने लामो समयदेखि सडकमै जरिवाना चाहिँ किन काटिन्छ ? बैङ्क सिस्टममा गएर किन जरिवाना काट्न शुरु भएन ? कि कमाइखाने भाँडो बनाइराख्न सडकमै बिल थमाउने हो । यो गम्भीर प्रश्न हो यसमा सरकारी निकायको ध्यान जानु जरुरी छ कि छैन ? ट्राफिक प्रहरीको कमजोर व्यवस्थापनको कारण सडक दुर्घटना बढेको यथार्थ हो ।
 
थोत्रा र मनपरी कुदाइएका ठूला सवारीबाट मासिक रकम लिने र सानो सवारीलाई चेकिङको नाटकमात्र भएकै कारण ट्राफिक व्यवस्थापन लामो समयदेखि सुध्रिएको देखिँदैन  । ट्राफिकले आफ्नो सङ्गठनलाई चुस्त–दुरुस्त बनाउन सकेको छैन । केबल पैसा कमाउन ट्राफिक अहिले व्यस्त छ । ट्राफिक प्रहरीले आफ्नो सेवाको गुणस्तरमा पनि ध्यान दिनु जरुरी छ । घुस नदिई कामै हुँदैन भन्ने सर्वसाधारणको भनाइमा किन चुप छ त्यो निकाय ? चोकमा उभिएर जाम खुलाउने, लाइसेन्स माग्ने, सवारीलाई व्यवस्थित गर्नेलगायतका काममा खटिने ट्राफिक र गाडी चालकबीच प्रायः विवाद र तनाव भैरहन्छ किन ? नियमविपरीत सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी नियम पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारी साधन चुस्त–दुरुस्त नराखी सञ्चालन गर्ने र लापरबाहीपूर्वक सवारी चलाउनेलाई कारबाही किन हुँदैन ? अहिले पनि ठूला व्यवसायीको ट्रक टिपरहरू वर्षौंदेखि रिन्यू नभई सञ्चालनमा आए पनि उनीहरूलाई कारबाही नहुनुको कारण आर्थिक चलखेल हो त्यो बन्द गर्ने सक्ने हिम्मत ट्राफिक प्रहरीसँग छ ? चेकजाँचले मात्र दुर्घटना न्यूनीकरण नहुने तथ्य प्रमाणित हुँदै गएको छ ।
 
त्यस कारण जरिवानालाई भन्दा पनि व्यवहारिक शिक्षालाई ध्यान दिनु जरुरी देखिन्छ । सबै सर्वसाधारणसँग रुखोे व्यवहार होइन उनीहरूलाई नरम व्यवहारमा ट्राफिक जनचेतना फैल्याउनु सक्नुपर्छ । कमिसन खान जथाभावी जरिवाना रसिद काटेरमात्र सडकको अस्तव्यस्त रोकिने पक्का छैन । ट्राफिक प्रहरी घमण्डी भएर सर्वसाधारणलाई सडकमा गाली गर्नेजस्ता क्रियाकलाप गर्छन् । यसलाई रोक्न ट्राफिक प्रहरीको हाकिमहरूले ध्यान दिनु जरुरी छ । सडकमा बिहान सबेरैदेखि मध्यरातसम्म देखिएका दृश्यहरूले ट्राफिक प्रहरीभित्र डरलाग्दो अराजकता र असुली अभियान चलेको प्रस्ट देख्न सकिन्छ, यतिबेला । ‘पहिला मापसे सोध, त्यो नभए लाइसेन्स सोध, त्यसको पासोमा पनि नपर्ने रहेछ भने ब्लुबुक खोज, त्यसपछि पनि उम्किए नम्बर प्लेट र साइड लाइटमा खोट देखाऊ र असुली गर’ भन्ने अभियान चलाइएको छ, सडकमा ।
 
अहिले बजारमा थोत्रा गाडीहरू सर्वसाधारण बोकेर धेरै कुद्ने गरेका छन । सरकारी निर्णयअनुसार यस्ता थोत्रा गाडी सडकमा गुड्न दिनै नहुने हो । तर, कवाडीमा बेच्नुपर्ने हजारौं सार्वजनिक सवारी अहिले विद्यार्थी, कर्मचारी र सर्वसाधारण यात्रु बोक्ने काममा संलग्न रहेका छन् । ज्यानमारा सार्वजनिक सवारी हटाउन चासो दिँदैन र विद्यार्थी तथा यात्रु बोक्ने जस्तो संवेदनशील काममा प्रयोग गर्न दिइन्छ ? यो विषयमा ट्राफिक नबोल्नुको कारण के ? यस विषयमा गम्भीर बनौँ । लाइसेन्स वितरण प्रणाली, सवारी चेकजाँच, कारबाही, सडक संरचना, ऐन–कानुन सबैतिर समस्या छ । प्राविधिक ज्ञानबिना निर्माण भएका ग्रामिण सडक अनगिन्ती छन् । जसको अवस्था दयनीय छ । जनसङ्ख्याको चाप, पुराना गाडी, ओभरलोड, धुलो र खाल्टा भएको मार्ग तर पनि सबै यात्रुलाई गन्तव्यमा पुग्नैपर्ने बाध्यता नेपालीको साझा समस्या बन्दै गएको छ  ।
 
यसलाई नियन्त्रणका उपायका बारेमा बहस गर्दै सडक दुर्घटना न्यूनीकरणको बाटो खोज्नुको सट्टा चेकिङलाई प्रथामिकता दिएर कमाउ धन्दामा नलाग्दा राम्रो हैन र एसपी साहब !  धेरैले सवारी चालक अनुमतिपत्र लाइसेन्स लिनुभन्दा अघि सिक्ने साधनका रूपमा मात्रै लिइरहेको पाइन्छ । नियमनकारी निकायको बेवास्ताका कारण नम्बर प्लेट, साङ्केतिक बत्ती नभएका सवारी लाइसेन्स बिनाका चालकले गुडाउँदा दुर्घटनाको जोखिम बढेको कुरा कहिले बुझ्ने ?  दुर्घटना रोक्नका लागि ट्राफिक प्रहरीले पुरानै शैलीमा सडकमा सवारी रोक्ने र दोषी पाइए जरिवाना गरेर छाड्ने गरेको छ । ट्राफिक प्रहरीले गर्ने चेकजाँच औपचारिकतामात्रै भएको जस्तो देखिन्छ हैन भने अवैध सवारी कुदाउनेहरू जरिवानामा छुट्दै जाने हो भने कहिले रोकिएला दुर्घटना ?