धरान । लुमन्ती आवासको लागि सहयोग समूहले ‘सहरी सुशासन’का विषयमा धरानका १० वटा टोल विकास संस्थासँग मिलेर काम गरिरहेको छ । 

लुमन्तीका अनन्त श्रेष्ठले धरानको ५ र १५ नम्बर वडाका १० वटा टोल विकास संस्थासँग सहरी सुशासनमा युवाहरूको सहभागितालाई मध्यनजर गर्दै काम गरिरहेको हो । यस विषयमा लुमन्तीसँग अनुसन्धानमा साझेदारी गरिरहेको नेपाल इस्टिच्युट अफ रिसर्च एन्ड कम्युनिकेसन (एनआइआरसी) ले सहरी सुशासनमा मिडियाका भूमिकाका विषयमा मङ्गलबार धरानमा जानकारी गराएको छ । यसक्रममा एनआइआरसीसँग आबद्ध भोजराज श्रेष्ठले धरानका मिडियामा सामाजिक विषयको कभरेजको अनुगमनबारे बताए । मिडियामा सामाजिक मुद्दालाई सकारात्मक रूपमा नै प्रस्तुत गरेको उनले बताए । 

उनका अनुसार अनुगमनमा सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म आठवटा सञ्चारमाध्यमहरूमा प्रकाशित ७५ वटा समाचार सामग्रीको विश्लेषण गरिएको थियो । यसमा लैङ्गिक हिंसाको मुद्दा सबैभन्दा बढी कभरेज गरिएको बताए । यस्तै नकारात्मक समाचारको तुलनामा सकारात्मक समाचार बढी छापिने गरेको उल्लेख गरिएको थियो । ७५ वटा समाचारमध्ये ५० प्रतिशत समाचार सकारात्मक छापिएको उनले उल्लेख गरे । 

यस्तै एनआइआरसीका जिग्मी लामाले स्थानीय योजना निर्माणको आवश्यकता योजना तर्जुमाको सात वटा चरणका बारेमा उल्लेख गरे । युवाहरूलाई योजना निर्माणका विषयमा थाहा हुनुपर्ने उल्लेख गरे । उनले पुसदेखि योजना निर्माण भई असार मसान्तसम्म चल्ने भएकाले यसबारेमा युवापुस्तामा ज्ञान भएमा सहरी सुशासन बढ्ने बताए । यस्तै एनआइआरसीका अनुसन्धानकर्मी राजेश घिमिरेले मिडियाको भूमिकाबारेमा बताएका थिए । उनले मिडियाहरूले के कस्ता सामग्री कसरी प्रस्तुत गर्न सक्छन्, मिडियाले कस्ता विषयलाई पनि प्राथमिकतामा पार्नुपर्छ भन्ने विषयमा पनि जानकारी गराएका थिए ।

उनले नेपाली मिडियाको प्रवृत्तिका बारेमा उल्लेख गर्दै धरानका मिडियाले सहरी सुशासनलाई कसरी उठान गर्ने भन्ने विषयबारे बताए । यसबीचमा सहभागीहरूसँग छलफल पनि गरिएको थियो । मिडियाकर्मीहरूले पनि मिडियाका समस्या तथा उनीहरूले उठान गरिरहेको विषयबारे जानकारी गराएका थिए ।