धरान । झापाको झापा गाउँपालिका–३ स्थित लरेश मुर्मूको घरबाट चाँदीको गहना चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी चौकी टाँघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–३ का १९ वर्षीय निर्मल बराइली र सोही ठाउँका १९ वर्षीय दिपेश रसाइलीलाई आइतबार नियन्त्रणमा लिएको हो ।
आरोपित निर्मलको घरबाट चोरी भएको चुरा १ जोर, चाँदीको कल्ली एक जोर, चाँदीको बिच्छी १ थान, पाउजु १ थान, चाँदीको सिक्री एक थान, चाँदीको औंठी तीन थान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीसहित आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको जनाएको छ ।
झापा प्रहरीका अनुसार सोमबार जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । चोरीको घटना साउन १४ गते भएको थियो । सामग्री चोरी भएपश्चात् मुर्मूले प्रहरीलाई तत्कालै सूचना गरेका थिए ।