पाँचथर । पाँच दिनदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत फेला परेका छन् ।

यही साउन १५ गते बिहानदेखि हराइरहेका बिरुवाका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र छ वर्षीया छोरी नानुमा राईको शव मङ्गलबार बिहान बिरुवा खोलामा फेला परेको हो । 

उनीहरूको शव खोलाको किनारमा करिब २ सय मिटरको अन्तरमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिएका छन् । बेपत्ता बालबालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली खटिएको थियो ।

यसरी हराएका थिए दाजुबहिनी

 मृतक दाजु शिशिर कक्षा ४ र बहिनी कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययन गर्दथे । परिवारले ढिलो खबर गरेका कारण उनीहरूको खोजी २४ घण्टापछि मात्रै सुरु भएको थियो । वडाध्यक्ष खालिङका अनुसार बिहान करिब ६ बजे बाबु बिर्खबहादुर छोराछोरीलाई हजुरआमाकहाँ गएर खाना खाई विद्यालय जानू भनेर पठाएका थिए । 

यता हजुरबुबा–हजुरआमा भने नातिनातिनी बाबुका साथ रहेको विश्वासमा दिनभरि आफ्नै काममा व्यस्त रहे । सधैँ घर आउने नातिनातिनी नआएपछि साँझ करिब ७ बजे बाजे सूर्यबहादुरले बिर्खबहादुरलाई फोन गरेर सोधेका थिए । दुवै घरमा नानीहरू नभएपछि साउन १६ गते बिहानदेखि खोजी थालिएको वडाध्यक्ष खालिङको भनाइ छ । मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेकी छन् ।  

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । उनका अनुसार ती बालबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल फिदिम लगिएको छ ।