धरान । सुनसरीको धरानस्थित कलेजहरूमध्ये दुईवटा कलेजले शतप्रतिशत नतिजा ल्याएका छन् । धरानको सैनिक आवासीय महाविद्यालय र धरान–१६ स्थित सियोन स्कुलले शतप्रतिशत नतिजा ल्याएको हो ।
सैनिक महाविद्यालयमा ९० जना विद्यार्थीले परीक्षा दिएकोमा सबै विद्यार्थी उत्तीर्ण भएको महाविद्यालयले आफ्नो फेसबुक पेजमार्फत् जानकारी दिएको छ । विज्ञानतर्फ ५६ जना विद्यार्थी रहेका थिए । यस्तै व्यवस्थापन सङ्कायमा ३४ जना विद्यार्थी रहेका थिए । विज्ञानतर्फ ३.६१ जिपिएदेखि ३.८५ जिपिए ल्याउने १२ जना रहेका छन् । यता व्यवस्थापनमा भने ३.६१ जिपिएदेखि ३.७५ जिपिए ल्याउने पाँच जना छन् । यस्तै सियोनमा ४६ जना विद्यार्थीमध्ये ए प्लस ४ जना र ए ग्रेड ल्याउने ३३ र बी प्लस ग्रेड ल्याउने ९ जना विद्यार्थी रहेका छन् । यी दुवै विज्ञान सङ्काय र व्यवस्थापन सङ्कायमा रहेका थिए ।
धरानको विष्णु मेमोरियल स्कुलका प्राचार्य निलमकुमार श्रेष्ठका अनुसार विज्ञान सङ्कायमा ९७.४३ प्रतिशत उत्तीर्ण भएका छन् । ७८ विद्यार्थीमध्ये ७६ जना उत्तीर्ण भएका हुन् । यस्तै व्यवस्थापन सङ्कायमा शतप्रतिशत उत्तीर्ण गर्न सफल भएको छ । व्यवस्थापनमा ३४ जना विद्यार्थीहरू रहेका थिए । सबै विद्यार्थीहरू उत्तीर्ण भई विज्ञान र व्यवस्थापन गरी कुल ९८ दशमलव २१ प्रतिशत उत्तीर्ण भएको प्राचार्य श्रेष्ठले जानकारी दिए । विष्णुमा ३.६१ जिपिएदेखि ४.० ल्याउनेमा चारजना रहेका छन् ।
यस्तै धरान उच्चमा विज्ञान र व्यवस्थापन गरी कुल ९२ दशमलव ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । धरान एड्भान्स एकेडेमीका अध्यक्ष शिवनारायण साहका अनुसार विज्ञानतर्फ ७७ विद्यार्थीमध्ये ७५ जना उत्तीर्ण भएका छन् भने व्यवस्थापनतर्फ १ सय १५ मध्ये एक सय ३ जना उत्तीर्ण भएका छन् । विज्ञानमा तीनजना ए प्लस र व्यवस्थापनमा पनि तीन जनाले ए प्लस ल्याएका छन् । गतवर्ष विज्ञान सङ्कायतर्फ धरानभरिका स्कुलहरूमा सबैभन्दा बढी जिपिए ल्याएर उत्तीर्ण भएको एम्स एकेडेमीमा ९४ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा ए प्लस ५ जना उत्तीर्ण भएका छन् । प्राचार्य सन्तोष कोइरालाका अनुसार यसपटक पनि विज्ञानतर्फबाट जेनिसा निरौला नेपालभरि नै दोस्रो हुन सफल भएको बताए । उनका अनुसार जेनिसाले ३.९५ जिपिए ल्याएकी छन् ।
यस्तै धरानको होटल म्यानेजमेन्टबाट चिनिएको युएन–नवोदय कलेजबाट विज्ञान र व्यवस्थापन सङ्कायमा ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्राचार्य डम्बरकुमार तुम्बापोका अनुसार विज्ञान र व्यवस्थापन सङ्कायमा एक सय ५० जना विद्यार्थीमध्ये एक सय ३८ जना उत्तीर्ण हुन सफल भएका हुन् । यस्तै सुनाखरी एकेडेमीमा कुल ७६ प्रतिशत उत्तीर्ण भएका छन् । कुल २५ जना विद्यार्थीमध्ये १९ जना उत्तीर्ण भएको प्राचार्य मिलनकुमार राईले जानकारी दिए । उनका अनुसार ‘ए’ मा २ जना उत्तीर्ण भएका छन् । यस्तै धरानकै समिट स्कुलमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३७ जना विद्यार्थीमध्ये २२ जना उत्तीर्ण भएको प्राचार्य रमेश दाहालले जानकारी दिए । युरेका आवासीय मा.वि.मा विज्ञान र व्यवस्थापनतर्फ कुल ९० दशमलव ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । युरेकाका प्राचार्य कुरन चेम्जोङका अनुसार विज्ञानतर्फ ४५ र व्यवस्थापनमा ३९ जना विद्यार्थी भएकोमा कुल ७६ जना उत्तीर्ण भएका छन् ।
यस्तै धरान–६ पानबारीको शिक्षा सन्देशमा ५७ दशमलव १४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २८ जना विद्यार्थीमध्ये १६ जना उत्तीर्ण भएको शिक्षा सन्देशका चन्द्रबहादुर सुवेदीले जानकारी दिए । डिपो स्कुलमा विज्ञान र व्यवस्थापन सङ्काय गरी कुल ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । व्यवस्थापनतर्फ ५४ जना विद्यार्थीले परीक्षा दिएकोमा ४९ जना र विज्ञानतर्फ ३६ मध्ये ३३ जना उत्तीर्ण भएका छन् । यसमध्ये ए प्लस दुईजनाले ल्याएको स्कुलका प्राचार्य राजकुमार राईले जानकारी दिए । यता धरान आदर्शका प्राचार्य लोकेन्द्र श्रेष्ठलाई विद्यार्थी उत्तीर्ण सङ्ख्या निकाल्न आज (बुधबार) सम्म लाग्ने बताए ।
सामुदायिकबाट पब्लिकले निजीलाई पछ्याउँदै
सामुदायिक विद्यालय पब्लिक मा.वि.ले संस्थागत तथा निजी विद्यालयलाई पछ्याउन थालेको छ । विज्ञान सङ्कायतर्फ ८३ दशमलव ८४ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । स्कुलका प्राचार्य डा. इन्द्रमोहन झाका अनुसार विज्ञानतर्फ १ सय ३० विद्यार्थीमध्ये एक सय ९ जनाले उत्तीर्ण गरेका छन् । पब्लिकमा चारवटा सङ्कायमा पढाइ भइरहेको छ । प्राचार्य डा. झाका अनुसार इलेक्ट्रिकलमा २७, व्यवस्थापनमा १ सय ८९, शिक्षामा ६५ र मानविकीतर्फ २२ जना गरी कुल चार सय १२ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । सबै सङ्कायको आधारमा ५९ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् ।