मोरङ । कोशी प्रदेशमा गत आर्थिक वर्ष कुल ११ लाख ८२ हजार २ सय २१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । दुई लाख ७५ हजार २ सय ६७ हेक्टर जग्गामा यो परिमाणमा धान उत्पादन भएको हो । प्रदेशमा कुल सात लाख १३ हजार ३ सय ३३ हेक्टर खेतीयोग्य जमिन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । 

सिँचाइको अभाव र आकाशे पानीको निर्भरताले सबै जमिनमा बाली लगाउन किसानहरूले सकिरहेका छैनन् । ४.२९ मेट्रिक टन उत्पादकत्व रहेको धानबाली अघिल्लो वर्षको तुलनामा १.९७ प्रतिशत बढी क्षेत्रमा बढी लगाइएको थियो भने उत्पादन पनि ३.१९ प्रतिशत बढी भएको हो ।

निर्देशनालयका अनुसार सो अवधिमा ४३ हजार ८ सय ६८ हेक्टर क्षेत्रमा चैते धान दुई लाख ३८ हजार ३ सय ८ मेट्रिक टन, मकै दुई लाख ७७ हजार १ सय ६६ हेक्टर जग्गामा ११ लाख ६६ हजार १ सय ४८ मेट्रिक टन, कोदो ५७ हजार २ सय ७४ हेक्टर जग्गामा ८५ हजार ९ सय ७२ मेट्रिक टन, गहुँ ५१ हजार ६ सय ३५ हेक्टर जग्गामा एक लाख ३७ हजार ७ सय ३० मेट्रिक टन, फापर दुई हजार ८ सय ९६ हेक्टर जग्गामा चार हजार ७ सय ७५ मेट्रिक टन र जौ ९ सय ८६ हेक्टर जग्गामा लगाइएकोमा एक हजार २ सय ८५ मेट्रिक टन उत्पादन भएको हो ।

सो अवधिमा सुन्तला आठ हजार १ सय ७ हेक्टरमा ६४ हजार ८ सय २४ मेट्रिक टन र हिउँदे फलफूल दुई हजार ८ सय ७३ हेक्टरमा २१ हजार ४४ मेट्रिक टन उत्पादन भएको थियो । सुन्तलाको उत्पादकत्व आठ मेट्रिक टन र हिउँदे फलफूलको उत्पादकत्व ७.३२ मेट्रिक टन रहेको निर्देशनलायको भनाइ छ ।

प्रदेशमा आ.व. २०८१÷०८२ मा दलहन बाली ३५ हजार १ सय ३२ हेक्टरमा ४० हजार ९ सय ३७ मेट्रिक टन र तेलहन बाली ४१ हजार ६ सय ८१ हेक्टरमा ५१ हजार ५ सय १५ मेट्रिक टन उत्पादन भएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिए । 

उनका अनुसार आलु ६६ हजार ३ सय ९९ हेक्टरमा १० लाख ८७ हजार ४ सय ११ मेट्रिक टन, अलैँची १४ हजार १ सय ९१ हेक्टरमा सात हजार १ सय ५० मेट्रिक टन, उखु पाँच हजार ९ सय ३२ हेक्टरमा तीन लाख ४२ हजार २ सय ८५ मेट्रिक टन, च्याउ छ हजार १ सय २१ मेट्रिक टन उत्पादन भएको हो । 

उनले आलु र उखुको उत्पादन बढे पनि अलैँचीको उत्पादन पाँच दशमलव सात प्रतिशतले कमी भएको जानकारी दिँदै सरदर प्रदेशमा एक व्यक्ति १ सय ९१ केजी खाद्यान्न आवश्यकतालाई पूरा गरेर सो अवधिमा छ लाख ९७ हजार ३ सय ५५ मेट्रिक टन बचत भई खाद्यान्नमा आत्मनिर्भर भएको जानकारी दिए । (रासस)