भद्रपुर / भद्रपुर नगर क्षेत्रको पहिलो शरीर दान गर्ने व्यक्तिको पहिचान बनाएका समाजसेवी उदयदेव शर्मा आचार्यको शरीर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । भद्रपुर १० स्थित चन्द्रगढीमा घर भएका आचार्यले २०६५ सालमा आफ्नो शरीर वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दान गरेका थिए । आचार्यको अन्तिम इच्छा अनुसार परिवारले मृत्युपछि दाह संस्कार नगरी शरीर प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।
वि सं २००७ साल असोज १३ गते खोटाङ्को सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन् । वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी सङ्गठन झापाका सदस्य, व्राह्मण समाज झापाका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध रहेका आचार्य सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारको बिरूद्ध जागरण अभियान समेत चलाउँदै आइरहेका थिए । उनको शनिबार विहान साढे चार वजेतिर हृदयघातका कारण आकस्मिक निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।