काठमाडौं / आफ्नो प्रेममा बाधक बनेपछि एक छोरीले आफ्नी ६० वर्षीया आमाको हत्या गर्न भाडामा अपराधी खटाइएको खुलेको छ ।
आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिकामा ६० वर्षीय सावित्री भट्टराईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। महानगरीय अपराध महाशाखाले सोमबार पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धानको क्रममा साबित्रीको हत्या उनकै कान्छी छोरी इश्वरी भट्टराईले गरेको खुलेको बताएको छ । हत्या आरोपमा प्रहरीले इश्वरी, दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
पक्राउ पर्ने भारतीय नागरिकमा मोहम्मद नैसाफ, अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद राहिस रहेका छन्। मोहम्मद नैसाफ र इश्वरीबीच प्रेम सम्बन्ध रहेको र आमा सावित्री बाधक बनेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी थापाले बताए । ‘छोरीले आमाको हत्याका लागि १२ लाख सुपारी दिएको पाइयो । मोहम्मदले भारतबाट दुई जना झिकाएर हत्या गरेको देखियो ।’– एसएसपी थापाले पत्रकार सम्मेलनमा भने । आइतबार बिहान मोटरसाइकलमा आएका व्यक्तिले सोनाम थापा मगरको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी सावित्रीको हत्या गरेको थियो।
को हुन इश्वरी
२७ वर्षीया ईश्वरीले सोनाम थापा मगरसँग बिहे गरेका थिए । नौ वर्षअघि बैबाहिक सम्बन्धमा बाँधिएका उनीहरुको एक छोरा छ ।
ईश्वरी गार्मेट कारखानामा काम पनि गरिन् । त्यही क्रममा सिरहाका मोहमद नौसादसँग प्रेममा परेकी थिइन । उनीहरुको सम्बन्ध घनिष्ठ भए पछि नौसाद बाँसबारीस्थित ईश्वरीको घरसम्मै आउन थाले । सोनामा एयरपोर्ट अगाडि होटल गर्थे । ईश्वरीकी आमा साबित्री सिन्धुपाल्चोकबाट बेलाबेला छोरीज्वाइँ कहाँ आइरहन्थिन् ।
त्यही क्रममा उनले छोरीको दोश्रो सम्बन्धबारे थाहा पाइन् । छोरीको घरबार भाँडिने देखेपछि उनले ज्वाइँ सोनाम थापा मगरलाई भन्दिने भन्दैं छोरीलाई सचेत गराएकी थिइन । प्रेमबारे श्रीमान्ले थाहा पाउने भए भन्ने आसंकामा आमालाई हत्या गरिएको देखिएको छ ।
आफ्नी छोरीलाई छाड्न र विदेश जान भन्दै सावित्रीले नौसादलाई १ लाख रुपैयाँ पनि दिइन् । नौसाद ९ जेठमा यूएई पनि पुगेका थिए तर, अर्कै योजना बन्यो ।
यसरी भएको थियो हत्या
घटना घटाउने दिन ईश्वरी घरमा नबस्ने योजना अनुसार आइतबार विहानै दिदीकहाँ गएकी थिइन । त्यही मौकामा ३ जना घरमा पगेको प्रहरी अनुसन्धानले देखाएको छ । सावित्राले नौसादलाई चिनिन् , तँ किन आएको भन्दै गालीसमेत गरेकी थिइन । आमाको ठूलो स्वरमा आवाज आए पछि छिमेकीले चासो लिएका थिए । तर आमाले केही होइन आफन्त नै हुन भनेर टारेकी थिइन ।
सोही समयमा उनको हत्या भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नौसादले मुख थुनेको अर्जुनले हात समाएको र रहिशले घाँटी रेटेर हत्या गरेको बयान नौसादले दिएका थिए । घटनाको प्रयोग भएको चक्कु अर्जुन र रहिशले नै चक्कु ल्याएका थिए ।