विराटनगर / मादक पदार्थ सेवन (मापसे) गरेर सवारी दुर्घटना गराई फरार रहेका विराटनगरका किरण लामालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएका लामालाई मोरङ प्रहरीले दुई दिनपछि विराटनगरस्थित पुष्पलालचौकबाट सोमबार दिउँसो पक्राउ गरेको हो ।
शनिवार राति विराटनगर महानगरपालिका– ४ बरगाछीमा मोटरसाइकललाई ठक्कर दिएर फरार भएका लामालाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
शनिवार राति करिब ११ बजे विराटनगर– ४ बरगाछीमा लामाको बा २० च ७४० नम्बरको कारले विराटनगर –१२ का १९ वर्षिय शंकरकुमार मिश्र सवार को ३ प ५६ ३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका मिश्रको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनापछि घरमा कार लुकाएर लामा फरार भएका थिए । दुर्घटनामा परेका लामाको दायाँ हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
लामा दमकका केही युवाहरुसहित विराटनगर एयरपोर्ट मोडको एक होटलमा बसेर मापसे सेवन गरेका थिए । मापसे गरेपछि सवारी चलाएर घर जाने क्रममा दुर्घटना गराएको प्रहरीको पा्रराम्भिक अनुसन्धानबाट देखिएको छ । उनले होटलमा २९ हजार रुपैयाँको बिल उठेको प्रहरीले बताएको छ । ‘मापसे सेवन गरेर सवारी चलाएको पुष्टि भएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले भने, ‘परिस्थीतिजन्य र सिसी भिटिभीमा देखिएको फुटेजले मापसे गरेको देखिन्छ ।’ लामाले सुनयोजित रूपमा दुर्घटना गरेर मृत्यु गराएको हो होइन यस विषयमा अनुसन्धान भइरहेको उनले बताए । उनका अनुसार प्रहरीले सबै कोणबाट अनुसन्धान भइरहेको जानकारी दिए ।
पक्राउ परेका लामालाई प्रहरीले सोमबार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अन्तर्गत पाँच दिनको जिल्ला अदालत मोरङमा म्याद थप गरि अनुसन्धान अगाडी बढाएको डिएपी श्रेष्ठले बताए । जग्गा कारोवारदेखि मिटर ब्याजको धन्दा चलाइरहेका लामाले यस अघि उनी सञ्चालक रहेको होटल टेन एलाभेनका व्यवसायिक साझेदार प्रह्लाद गुरागाईलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा सात दिन थुनामा बसेर छुटेका थिए ।