धरान । गैर नेपालीलाई नागरिकता जारी गरेको आरोपमा तीनजना कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक चलखेल गरेर १६ जना गैर नेपालीलाई जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता वितरणमा संलग्न प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने निलम्बनमा परेका हुन् । उनिहरुलाई केही हप्ता अघिबाट लागू हुने गरी गृह मन्त्रालयले निलम्बन गरेको हो ।

गैर नेपालीलाई नागरिकता जारी गरेको प्रमाण फेला परेपछि गृहमन्त्रालयले बृस्तित् छानविनका लागि प्रहरीलाई पत्र पठाएको थियो । नागरिकताको सनाखत खरिदार न्यौपानेले गराएको, नासु निरौलाले टिप्पणी पेस गरेको र प्रशासकीय अधिकृत ढुङ्गेलले जारी गरेको उल्लेख छ ।

घटनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप छानबिन गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले गैरनेपालीलाई नागरिकता दिएको देखिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । जिल्लाका विभिन्न वडाबाट सिफारिस भएर आएपछि उनीहरूले नागरिकता दिएको उनको भनाई छ ।

सूचना पाएपछि गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको नेतृत्वमा छानबिन समिति बनाएको थियो । टोली झापामै आएर छानबिन सुरु गरेकोे दाहालले बताए । जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता लिएका १६ जना गैरनेपालीको सूची लिएर अनुसन्धान टोली झापा आएको थियो । टोलीले आवश्यक सम्पूर्ण कागजात लिएर गएको उनको भनाई छ ।

कर्मचारीले ०७३ सालमा ५ जना र ११ जनाले जेठ ०७६ मा नागरिकता लिएको पाइएको छ । नागरिकता वितरण गरिएकोमा भारतीय, भुटानी र तिब्बती रहेको भेटिएको छ । भद्रपुर नगरपालिका–९, बिर्तामोड नगरपालिका–८ र साविकको शरणामति गाविसबाट उनीहरूलाई नागरिकता दिन सिफारिस गरिएको बुझिएको छ  ।

भद्रपुर–९ का वडाध्यक्ष शनिलाल राजवंशी वडाकै काममा सक्रिय छन् भने विर्तामोङ–८ का वडाध्यक्ष अजय कार्की उपचारका लागि भारतमा रहेको बुझिएको छ  । केही नागरिकतामा बाबु टेक बहादुर गुरुङ बनेका छन् । नागरिकतामा बाबुको नामसमेत एउटै उल्लेख गरिएको छ ।

नेपाली नागरिकता लिने क्रममा एक भारतीयसहित दुई व्यक्ति जिल्ला प्रशासन कार्यालय झापाबाटै वैशाख १० गते पक्राउ परेका थिए । हाल निलम्बनमा परेका प्रशासकीय अधिकृत ढुङ्गेलले भारतको कानपुर जिल्ला, चमरमैना थाना मणिपुर बस्ने ३६ वर्षीय भूपाल गुरुङ्लाई प्रहरीको जिम्मा लगाएका थिए । तिनै अधिकृत ढुङ्गेल गैरनेपालीलाई नागरिकता दिएको प्रकरणमा अहिले निलम्बनमा परेका छन् । सोही दिन गुरुङ्को नागरिकतामा सनाखत गर्न गएका झापा कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय बमबहादुर गुरुङ् पनि पक्राउ परेका थिए । भूपाललाई आफ्नो छोरो बताउँदै बमबहादुर सनाखत गर्न गएका थिए ।

कचनकवल गाउँपालिका–२ का वडाध्यक्ष मेखबहादुर भट्टराईले भूपालको नागरिकताका लागि सिफारिस बनाइदिएका थिए । वडासचिव हरि गौतमले जन्मदर्ता र सजिर्मिन गर्न पाँच स्थानीयको संलग्नता भेटिएको थियो । नक्कली वावु वनेर वंशजको आधारमा भारतीयलाइ नागरिकता दिलाउन प्रशासन कार्यालय आएको घटनामा पक्राउ परेका भारतीय नागरिक भूपाल झापा जिल्ला अदालतले पुर्पक्षका लागि जेठ ५ गते झापा कारागार चलान गरेको छ । भारतीय नागरिकलाई जेठो छोरा भन्दै नागरिकता दिने क्रममा पक्राउ परेका कचनकवल गाउँपालिका २ का बमबहादुर भने ३० हजार धरौटी बुझाएर तारिखमा छुटेको अदालतले जनाएको छ ।

नेपाली नागरिकता लिएको खण्डमा तोकेको सजाय तथा जरिवाना अनुसार विदेशी नागरिकको हकमा एक वर्षदेखि पाँच वर्ष सम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकेको छ । तर, नागरिकता नलिई पक्राउ परेकाले सो सजाय तथा जरिवाना उद्योगमा गएर दर्ता भइ ६ महिनादेखि साढे दुई वर्ष कैद र २५ हजारदेखि ५० हजार सम्म जरिवाना हुन्छ । त्यस्तै नागरिकताको कागजात मिलाउने वा सिफारिस गर्ने व्यक्तिको हकमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना हुने कानूनमा स्पष्ट उल्लेख गरिएको छ ।