भद्रपुर /  ठूला चाड पर्व आउन केही महिना बाँकी भएसगै इलाम तथा झापामा तस्करी शुरु भएको छ । कपडा बोकेको बलेरो पिकअप भेनसगै सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि तस्करी हुदै आएको पुष्टि भएको हो । मे १ ज ३१३६ नम्बरको बोलेरो पिकअप लाली खर्क,कटेबुङ हुदै कपडा बोकेर फिक्कल निस्कदै गरेको गाडीलाइ वुधबार दिउँसो इलामको हर्कटेमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि धन्दा सार्वजनिक भएको हो ।
सशस्त्र प्रहरीले पछ्याउदै गरेको अवस्थामा कपडा बोकेको गाडी र पशुपतीनगर लाली खर्क २ का २६ वर्षिय चालक निमा तामाङ्लाइ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी इलामका एसपी विदुर खडकाले जानकारी दिए । गाडीमा सिरक डस्ना वनाउने लगायत १३ पोका कपडा रहेको एसपी खडकाले बताए । गाडी झापा तर्फ गइरहेको उनले बताए । कपडा बोकेको गाडी र चालक तामाङ्लाइ पशुपतीनगर भन्सार कार्यालय पठाइएको उनले जनाए । कती मूल्य बराबरको सामान हो भन्ने विषयमा भन्सारबाट आइनसकेको उनको भनाई छ ।
दुई हप्ता यता देखि सो क्षेत्र प्रयोग गरी कारोबारीले काम गरिरहेका छन् । भारतको सिलगढीबाट दैनिक ४० देखी ५० पोका उठेको सामानलाइ इलामको हिलेमा जम्मा गरी पिकअप भेनको सहायताबाट दैनिक १० देखी १५ पोका हर्कटेको गोदाममा भेला गरिदै आएको स्रोतको दाबी छ । केही पोका पशुपती भन्सारमा राजस्व काटेर अन्यलाइ मे १ ज ९२३ नम्बरको मारुती भेनको माध्यामबाट ५ देखी ६ पोका राखेर दैनिक ७ पटकसम्म विर्तामोड ल्याउने गरेको पाइएको छ । सो क्षेत्रबाट रमेश ,विमल लगायत नाम गरेका कारोबारीले काम गर्दै आइरहेको स्रोतले जनाएको छ ।
त्यसैगरी झापाको विभिन्न नाकाबाट एक हप्ता यताबाट तस्करी शुरु भएको छ । काँकडभिट्टाको मेचीपुल दक्षिणको नाकाबाट दैनिक ४ गाडी सामान तस्करीको माध्यामबाट धुलाबारी आउने गरेको छ । केही समूहले भारतबाट अवैध रुपमा नेपाल भित्रयाउदै आएको सामान धुलाबारीमा जम्मा गरेर वैध वनाइ पूर्वी बजारमा लैजाने गरेका छन् । त्यसैगरी झापाको दक्षिणी क्षेत्र केचनाबाट चारओटा मोटरसाइकलको माध्यामबाट दुइ देखी चार पटक सम्म सामान नेपाल भित्र्यादै आएका छन् । झापाकै अन्य राजगढ ,झापा बजार लगायतका नाकाहरुमा छिटफुट रुपमा सामान नेपाल भित्रीने गरेको पाइएको छ । कारोबारीले मोरङ्को रङ्गेली नाका प्रयोग गरेर समेत अवैध धन्दा चलाइ रहेको स्रोतले जानकारी दिएको छ । सो नाकाबाट काम गर्ने झापाका केही कारोबारी रहेका छन् ।
यता भद्रपुर भन्सारमा सामानको ५० प्रतिशतमात्र राजस्व तिर्ने गरेको पाइएको छ । बाँकी ५० प्रतिशत कर्मचारी र व्यापारीले फाइदा लिने गरेका छन् । विषेश गरी प्रमुख भन्सार अधिकृत नभएको समयमा यस्तो खेल हुने गरेको पाइएको छ । प्रमुख भन्सार अधिकृत फणिन्द्र खतिवडासँग सम्पर्क गर्दा फोन उठेन । तस्करी गरेको प्रमाण फेला परेमा कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
विगतका वर्षहरुको घटनाक्रमलाइ हेर्ने हो भने चाड पर्व नजिक आएसँगै तस्करले विभिन्न जिल्लाका नाकाहरु प्रयोग गरी अवैध धन्दा गर्दै आइरहेको देखिएको छ ।