पाँचथर/ पाँचथरमा फरक शैली अपनाएर ठगी हुने गरेको पाइएको छ । नयाँ तरिकाबाट ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेसँगै उक्त रहस्य खुलेको हो ।
ठगीमा संलग्न कुम्मायक–३ रानीगाउँ घर भई फिदिम बजारमा बस्दै आएका लीला भनिने रिजन चम्लागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले जिल्लाका होटल व्यवसायी र सवारी चालकलाई प्रलोभनमा पारी विश्वासमा दिलाएर ठगीधन्दा गर्दै आएको अनुसन्धानबाट खुल्न आएको पाँचथरका डिएसपी नरेन्द्र कुँवरले बताए ।
डिएसपी कुँवरका अनुसार चम्लागाईंले होटल व्यवसायी, सवारी चालक र मनी ट्रान्सफरका सञ्चालकलाई ठगीधन्दाको निशाना बनाएको पाइएको हो । उनले होटल सञ्चालकलाई फोन गरी ‘मसँग गेष्ट छन्’ भन्दै लज बुकिङ र खाना अर्डर गर्ने, त्यसपछि बीच बाटोमा गाडी बिग्रिएर समस्यामा परेको बहाना बनाई आइएमईमार्फत् पैसा पठाइदिनू त्यहाँ आएर मिलाउँछु भनी पैसा प्राप्त गरेपछि सम्पर्कविहीन हुने गरेको पाइएको हो ।
सवारी चालकहरूलाई पनि फोन गरेर ‘मसँग यति यात्रु छन्’ भन्दै उस्तै शैलीमा ठग्ने गरेको प्रहरीले जनाएको छ । उनले पछिल्लो समय फिदिम–एकतीन रुटमा चल्ने सवारी साधनका चालक अनिल ढुङ्गेललाई दश हजार रुपैयाँमा गाडी रिजर्भ गरी उस्तै शैलीमा ठगी गरेका थिए । त्यसपछि फिदिम बजारको एक होटलमा ढुङ्गेलले दुःखेसो पोख्दा होटलवालाले आफू पनि उसरी नै ठगिएको कुरा बताएपछि उनीहरू प्रहरीसमक्ष पुगेका थिए ।
चम्लागाईंलाई फिदिम बजारबाटै प्रहरीले पक्रेको हो । अनुसन्धानको क्रममा उनले त्यही शैली अपनाएर आधा दर्जन होटल र सवारी चालकबाट पाँचदेखि सात हजार रुपैयाँसम्म ठगी गरेको खुलेको छ । प्रलोभन र विश्वासमा पारी ठगी गर्ने चम्लागाईंले विगतमा झापादेखि फिदिमसम्म चल्ने सवारी साधनमा सह–चालकको रूपमा काम गरेको पाइएको प्रहरीले जनाएको छ ।
धेरैजना सवारी चालक र होटल सञ्चालकलाई चिन्ने हुनाले उनले ठगीको पहिलो निशाना उनीहरूलाई नै बनाएको पाइएको हो । निजउपर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।