धनकुटा । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.७ थोक्लुङस्थित भगवती माविका तत्कालीन शिक्षक उमाकान्त चौंलागाईं र उनकी श्रीमती लीलाले आफ्नो छोरालाई जापान पठाउने भन्दै २०७२ सालमा गाउँले र चिनेजानेकासँग ऋणको आग्रह गरे ।
राम्रो ब्याजको आशामा गाउँलेहरूमध्ये कसैले आफूसँग भएको रकम दिए, कसैले भएका गरगहना सुम्पिए । अनि कसैले भएको जग्गा बेचेर पैसा दिए । पैसा लिएको वर्षदिनसम्म पनि फिर्ता नगरेपछि गाउँलेहरूले सोधखोज गर्न थाले । तर गाउँलेको ऋण नबुझाई चौंलागाईं शिक्षकको जागिरबाट समेत राजीनामा दिएर ०७३ साल फागुनमा मोरङको सुन्दरहरैंचा–२ मृगौलियास्थित करैबना टोलमा बसाईं सरे ।
गाउँलेहरूका अनुसार चौंलागाईं दम्पतीले करिब १ करोड २० लाख रुपैयाँभन्दा बढी ऋण लिएका थिए । तर पैसा नतिरी गाउँ छाडेर हिँडेपछि अहिलेसम्म पैसा फिर्ता नपाएको गाउँलेहरू बताउँछन् । पीडितहरू चौंलागाईंले सुनियोजित तरिकाले पैसा उठाएर भागेको आरोप लगाउँछन् ।
चौंलागाईं दम्पतीलाई आठराई–७ थोक्लुङ मानेडाँडाकी बिरीमाया तामाङको ६ लाख रुपैयाँ, अमृत तामाङ (सिलाङ्गे काहिँला)ले १० लाख ७१ हजार, मोरङ सुन्दरहरैंचा –६ गछियाका ऋषिराम दङ्गालले ८ लाख ७५ हजार र ३ तोला सुन बुझाएका थिए । त्यस्तै आठराई–७ याङ्खुवाका रङ्गलाल ढकालले ८ लाख, सोही वडाका वीरबहादुर तामाङले २ लाख ९८ हजार, थोक्लुङ भालुखोपका लक्ष्मी श्रेष्ठले १ लाख, थोक्लुङ ढोडेनीका पुण्य चौंलागाईंले १ लाख १४ हजार, मोरङ विराटचोक सीतामारीका सुवास तामाङले १ लाख, पाँचथर फिदिमका शुक्रराज तामाङले १ लाख ८० हजार नगद बुझाएका थिए । तर उनीहरू कसैले पनि हालसम्म पैसा फिर्ता नपाएको बताएका छन् ।
त्यसैगरी आठराई थोक्लुङका श्याम कन्दङ्वाले २० हजार, थोक्लुङ लामा चौताराका सोम सिवाले १ लाख ५५ हजार, सोम लामीछानेले ६२ हजार नगद बुझाए पनि फिर्ता नपाएको स्थानीयले बताए । थोक्लुङ ढलेबरका हरिप्रसाद अधिकारीको २ लाख ३८ हजार, नरप्रसाद अधिकारीको ६५ हजार, पिप्लेका हेमचन्द्र तिम्सिनाको ६० हजार, फाक्चुवाका नारायण थपलियाको ३ लाख, थोक्लुङ भदौरे डाँडाका ज्ञाननाथ रसाइलीको ८५ हजार पनि चौंलागाईंले फिर्ता गरेका छैनन् । चौंलागाईले कतिसम्म बेइमानी गरेका छन् भने गोरुले हानी खट्टा भाँचिएर अपाङ्ग बनेका ढोडेनीका श्रीकृष्ण चौंलागाईंको उपचार गर्न सङ्कलन गरिएको १ लाख ३० हजार रकमसमेत लगेर फिर्ता गरेनन् । गाउँका साथीभाइले उपचारको लागि सङ्कलन गरेको रकम चौंलागाईं दम्पतीले लगेपछि उपचार गर्न नपाई बैसाखी टेकेर हिँड्नु परेको श्रीकृष्णले बताए ।
त्यस्तै पिप्लेका मानसिङ तामाङको ४ लाख, चुहानडाँडा हिलेका मेघनाथ पराजुलीेको ३ लाख २० हजार, थोक्लुङ भीरगाउँका भीम श्रेष्ठको ६ लाख, महानन्द भण्डारीको २ लाख, भालुखोपका नयाँघरे श्रेष्ठको ३ लाख, थोक्लुङ भोर्लेका औतारी लामाको २ लाख ९० हजार, मार्साङबारीका तुलसी ढकालको ५ हजार, सन्त योञ्जनको ३ हजार गरी १ करोड २० लाखभन्दा बढी रकम लिएको पाइएको छ । पीडितमध्येका हरिप्रसाद अधिकारीले चौंलागाईंले विभिन्न बहाना बनाएर गाउँघरका सोझासिधा सर्वसाधारणसँग पैसा लिई गाउँलेलाई समेत थाहै नदिई घर छोडेर भागेको आरोप लगाए । ‘गाउँलेलाई ऋणको रूपमाभन्दा पनि झुक्याएर एक जनाबाट लिने दोस्रो व्यक्तिलाई दिने, तेस्रो व्यक्तिबाट लिने अर्को व्यक्तिलाई दिने गरेको पाइएको थियो’ अधिकारीले भने, ‘त्यसो गरिरहँदा सयकडा २ र ३ को ब्याजले गर्दा रकम बढ्दै गएपछि तिर्न नसकेर भागे ।’
शुरुमा चौंलागाईंका छोराहरूले गाउँ छाडेका थिए । त्यसपछि चौंलागाईंले शिक्षक पदबाट राजीनामा दिएर सञ्चयकोष मिलाउने भन्दै गाउँ छाडे अनि अन्तिममा श्रीमती लीला कसैलाई थाहा नै नदिई हिँडेको पीडित अधिकारी बताउँछन् । अर्का पीडित सोम लामिछाने चौंलागाईले योजना बनाएरै पैसा उठाएको र राजीनामा दिएर गाउँ छाडेर ठगी गरेको आरोप लगाए । उनका अनुसार पैसा उठाउन गाउँमा जाँदा चौंलागाईंले श्रीमतीलाई मोटरसाइकलमा पु¥याउने गरेका थिए ।
चौंलागाईंका परिवार नै मिलेर गाउँमा ठगी धन्दा चलाएको अर्का पीडित भीरगाउँका महानन्द भण्डारीको आरोप छ । उनले विदेशमा कमाउन गएका छोरी ज्वाइँसँग पैसा मागेर चौंलागाईंलाई दिएका थिए तर अहिलेसम्म १ रुपैयाँ पनि साँवा–ब्याज नपाएको बताए । भण्डारीले आफ्ना छिमेकी थोक्लुङ याङ्खुवाका रङ्गलाल ढकालले धान फल्ने खेत ८ लाखमा बेचेर चौंलागाईं दम्पतीलाई ब्याजमा लगाएको पैसा अहिलेसम्म नउठेको बताए । ढकाल अहिले बसाइँ सरेर झापा बिर्तामोडस्थित चारपानेमा बस्दै आएका छन् ।
पीडित अमृत तामाङले आफूले चोकमा बसेर १ रुपैयाँ र २ रुपैयाँ गरी जम्मा गरेको पैसा आज र भोलि भन्दै मागेर लगेपछि चौंलागाईं दम्पती फर्केर नआएको बताए । उनीहरूलाई खोज्न पटक–पटक जाँदा भेट नभएको तर फोनमा कुरा हुने गरेको उनले बताए । त्यसैगरी मानेडाँडा बुद्धचोकमै होटल व्यवसाय गरिरहेका बिरीमाया तामाङले पनि आफू र आफ्नो परिवारले दुःख गरेर पसिना बगाएर कमाएको पैसा खाइदिएको बताइन् । ‘हरेक दिन लीला पैसा माग्न आउँथिन् । पैसा पाएपछि उनले पैसा दिनेलाई तुरुन्तै यो चाहिँ केही किनेर खानू भन्दै १–२ हजार दिन्थिन्’ तामाङले भनिन्, ‘मैले १ लाख रुपैयाँ दिएँ भने ५ हजार रुपैयाँ तुरुन्तै फिर्ता दिँदै तिम्रो हिसाब १ लाखकै सावाँ–ब्याजसहित हुन्छ भन्थिन् । त्यस्तै लोभमा पर्दा सबैको पैसा फस्यो ।’
पहाडबाट पैसा उठाएर नतिरी मधेसतिर बसाइँ सरेका चौंलागाईं भने अहिले मोरङको मृगौलियास्थित करैबनामा रहेको गुराँस निर्माण सेवामा शेयर हालेर जग्गा प्लटिङ गरेर बिक्री गर्दै आएका छन् । ब्लाष्टको जिज्ञासामा उनले श्रीमती लीला र छोराहरूले गर्दा आफू डुबेको बताए । उमाकान्तले श्रीमती लीलाले जताततै पैसा उठाएर छोराहरूलाई दिने गरेको थाहा पाएपछि थोक्लुङमा बसिसक्नु नभएर आफू शिक्षक जागिर राजीनामा दिएर हिँडेको बताए । उनले भने, ‘पैसा श्रीमतीले उठाएर चलाएको हुनाले तिर्दिन भन्न मिल्दैन, अब जग्गा प्लटिङमा लागेको छु, यसैबाट ढिलो–चाँडो ऋण तिर्छु ।’
तर उनलाई पैसा बुझाउनेहरूले अझै विश्वास गर्न सकेका छैनन् । उनीहरू पहाडबाट सङ्कलन गरेर ल्याएको पैसाले प्लटिङ गरेको र पीडितले कुरा गर्दा श्रीमान् श्रीमतीको सम्बन्ध बिग्रिएजस्तो देखाउने गरेको बताउँछन् । चौंलागाईं दम्पतीले १ करोड २० लाखभन्दा बढी रकम लिए पनि कसैसँग सामान्य टिपोटबाहेक तमसुकलगायत कुनै कागजी प्रमाण भने छैन । पैसा लेनदेन गरेको तमसुक गरौं भन्दा नमान्ने गरेको र मसँग पैसा छैन भन्दै प्लटिङको जग्गा महँगो दाममा बिक्री गर्ने गरेको पीडितहरूले बताए ।