भद्रपुर / झापाका दुइवटा स्थानमा नेपाली सेना परिचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको जिल्लाकोभिड सङकट व्यवस्थापन समितिको बैठकले कचनकवल र मेचीनगरमा सेना परिचालन गर्ने निर्णय गरेको हो ।
कचनकवलको सुकुनाडिगीमा र मेचीनगरको काँकडभिट्टा नेपाली सेनाको अस्थायी पोस्ट खडा गर्ने निर्णय भएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार कचनकवलको सुनुकनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेनटाइनको व्यवस्थापन र काँकडभिट्टाबाट नाकामा दुवै देशका नागरिकलाई आवतजावतमा सहजीकरण गर्ने उद्देश्यले नेपाली सेना राख्न लागेको बताए ।
कचनकवलमा प्रदेश एककै सबै भन्दा बढी १०३ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । भने काँकडभिट्टामा दैनिक सयौँ सङख्यामा नेपाली र भारतीय नागरिक आ आफ्नो देश फर्किरहेका छन् । यसअघि कलवलगुरी प्रशिक्षक केन्द्र भद्रपुर, मेची बहुमुखी क्याम्पस भद्रपुर र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एन्ड नर्सिङ कलेज बिर्तामोडको क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइसकेको छ ।