विराटनगर । मङ्गलबार दिउँसो ठीक १ बजे । विराटनगरको पाञ्चालीस्थित नेकपा (एमाले) पार्टी कार्यालयअगाडि निकै चहलपहल थियो । कार्यकर्ताहरू हातमा फूलमाला लिएर प्रतीक्षारत थिए । दश वर्षपछि पार्टी कार्यालय आउँदै गरेकी पूर्वराष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई भेट्नका लागि प्रदेश तथा जिल्ला नेताको उर्दीलाई बेवास्ता गर्दै भेट्न आतुर देखिन्थे ।
पार्टी कार्यालयमा भण्डारीको आगमन हुने खबर पाएका प्रदेश र महानगर तहका नेताहरूबीच माथापच्ची भइरहेका बेला कार्यकर्ताहरू लामबद्ध थिए । कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले मोरङ जिल्ला सचिव सोमराज थापालाई फोन गर्दै स्पष्ट निर्देशन दिएका थिए, “कार्यक्रम नराख्नूहोस्, जिम्मेवारी तपाईंहरूको हुनेछ ।” एमाले विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत् उर्दी जारी गर्दै कार्यकर्तालाई कार्यालय नजान चेतावनी दिएका थिए । बस्नेत, खतिवडा र मुख्यमन्त्री हिक्मत कार्की स्वयम्ले समेत फोन गरेर नेता–कार्यकर्तालाई कार्यक्रम बहिष्कार गर्न दबाव दिएको भण्डारी पक्षको दाबी छ ।
चेतावनी तथा दबावका बावजुद पनि भण्डारी पार्टी कार्यालय पुगेर कार्यकर्तासँग भेट गरेकी थिइन् । दिउँसो १ बजेतिर उनी पार्टी कार्यालय आइन् । भण्डारीलाई फूलमालाले स्वागत गर्न पार्टी कार्यालयमा कार्यकर्ता–नेताहरूको बाक्लो भीड थियो । तर त्यहाँ ओली पक्षधर भने देखिएनन् । कार्यालयमा पसी उनले सर्वप्रथम जननेता मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिन् । त्यसपछि कार्यकर्तामाझ उभिँदै उनले विगतको स्मरण गरिन्, “भूकम्पताका आएको थिएँ होला, त्यसपछि आज फेरि आइयो । धेरै परिवर्तन भएछ ।”
उनको सम्बोधन केवल भावुकतामा सीमित रहेन । उनले ४५ वर्षअघि विराटनगरबाटै सदस्यता लिएको र अहिले पनि सदस्यता नवीकरण गरिसकेको भन्दै पार्टीमै सक्रिय भएको घोषणा गरिन् । “मलाई कसैले निकाल्न सक्दैन” उनले चुनौतीपूर्ण स्वरमा भनिन्, “म एमालेकै सङ्गठित सदस्य हुँ, यहीँ हुर्किएँ, यहीँबाट राष्ट्रपति भएँ, अनि फेरि यहीँ फर्किएको छु ।” यो घोषणा संस्थापनको निर्णयलाई सिधा चुनौती थियो । कारण, केन्द्रीय कमिटीले भण्डारीको सदस्यता नवीकरण नगर्ने र उनको विषयमा बहस नै नगर्न सर्कुलर जारी गरिसकेको थियो ।
मुख्यमन्त्रीद्वारा सुटुक्क भेट
यो घटनाक्रममा सबैभन्दा नाटकीय पक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको रह्यो । उनी दोहोरो भूमिकामा देखिए । नेता, कार्यकर्ताहरूलाई कार्यक्रममा उपस्थित नहुन उर्दी गरेका उनले भने सुटुक्कै भेटेका छन् । अध्यक्ष ओलीको पक्षमा खरो उत्रने नेताका रूपमा चिनिँदै आएका मुख्यमन्त्री कार्कीले कार्यकर्तालाई भण्डारीको कार्यक्रममा नजान दबाव दिइरहँदा सोमबार राति सुटुक्क भण्डारीलाई भेटेको विराटनगरमा चर्चा परिचर्चा चल्यो ।
भण्डारी बसेको बिग होटलमा राति ८ बजेपछि पुगेका कार्कीले उनीसँग करिब १ घण्टा एक्लै गोप्य भेटघाट गरेका थिए । त्यसअघि अन्य मन्त्रीहरूसहित सामूहिक भेट भएको थियो । आफ्नो सचिवालयमार्फत् सामान्य भेटघाटका तस्बिरसमेत सार्वजनिक गर्ने मुख्यमन्त्री कार्कीले भण्डारीसँगको भेटलाई गोप्य राख्न खोज्नुले धेरैलाई आश्चर्यचकित बनाएको छ । संस्थापन पक्षका जिम्मेवार नेताले नै यसरी गोप्य भेट गर्ने तर कार्यकर्तालाई भने रोक्न उर्दी जारी गर्ने कार्यलाई एमालेका कार्यकर्ताहरूले ‘अनौठो र अवसरवादी’ भन्दै टिप्पणी गरेका छन् ।
स्रोतका अनुसार भण्डारीले आफू निकट नेता तथा मुख्यमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले आफूलाई अपमानित गरेको र राजनीतिमा फर्कन नदिन षड्यन्त्र गरेको गुनासो गरेकी थिइन् । एमाले केन्द्रीय कमिटीले भण्डारीको सदस्यता नवीकरण नगर्ने र उनको पक्ष वा विपक्षमा कुनै बहस नगर्न सर्कुलर जारी गरेको थियो । संस्थापन पक्षले यही सर्कुलरलाई आधार बनाएर कार्यक्रममा सहभागी नभएको तर्क गरेको छ । तर पार्टीकी पूर्वउपाध्यक्ष र देशकी पूर्वराष्ट्रपति आफ्नै गृह जिल्लाको पार्टी कार्यालय आउँदा गरिएको बहिष्कार र अवरोधले पार्टी एकताको धागो अत्यन्तै कमजोर बनेको देखाएको छ ।
भण्डारीले विराटनगरको मञ्चबाट आफू एमालेको सङ्गठित सदस्य भएको र सदस्यता नवीकरण गरिसकेको घोषणा गर्नुले केन्द्रीय कमिटीको निर्णयलाई सिधै चुनौती दिएको छ । संस्थापन पक्षको चेतावनीका बावजुद जिल्ला र नगर तहका नेताकार्यकर्ताको बाक्लो उपस्थिति हुनुले पार्टीको तल्लो तहमा भण्डारीको प्रभाव कायमै रहेको र केन्द्रीय निर्देशनको अवज्ञा सुरु भएको सङ्केत गरेको छ । यो घटनाले एमालेभित्रको शक्ति सङ्घर्ष अब गोप्य नरहेर सडक र पार्टी कार्यालयहरूमा समेत देखिन थालेको स्पष्ट पारेको छ । अब एमालेभित्रको शक्ति सङ्घर्ष गोप्य वा आन्तरिक बहसमा सीमित रहेन । यो सडक र पार्टी कार्यालयमा खुला रूपमा प्रकट हुन थालेको छ ।