नेपालका सामुदायिक विद्यालयहरूको सन्दर्भमा सामान्य जनमानसमा गहिरिएको धारणा छ–‘गुणस्तरहीन शिक्षा, कमजोर व्यवस्थापन र प्रतिस्पर्धामा पछाडि परेको संस्था ।’ तर हामीले पब्लिक हाईस्कुल धरान–१२ लाई यिनै सन्देह र चुनौतीहरूको बीचबाट गुजारी आजको सम्मानित अवस्थामा ल्याउन सक्यौं भने त्यो एउटा उदाहरणीय अभ्यास बन्न पुग्दछ । यो लेखमार्फत् मैले पब्लिक हाईस्कुलमा २०७० सालदेखि २०८२ सालसम्म र त्यसपछिका शैक्षिक सुधारको यात्रालाई समेट्ने प्रयास गरेको छु ।
पृष्ठभूमि र चुनौतीको पहिचान
शिक्षाको निजीकरण र अङ्ग्रेजी माध्यमको विस्तारसँगै देशभरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्याको गिरावट देखिन थाल्यो । त्यही प्रवाहबाट पब्लिक हाईस्कुल पनि अछुतो रहन सकेन । अभिभावकहरूले आफ्ना बालबालिकालाई अङ्ग्रेजी माध्यमको निजी विद्यालयमा पठाउन रुचि देखाउन थालेपछि सामुदायिक विद्यालयहरूमा केवल निम्न आयस्तरका परिवारका विद्यार्थी मात्र देखिन थाले । यो केवल पठन–पाठनको समस्या होइन, सामाजिक सन्देशको पनि विषय बन्यो । जसले सामुदायिक शिक्षाको वैधानिकता नै प्रश्नचिन्हमा खडा गर्न थाल्यो ।
यस्तो अवस्थामा हामीलाई लाग्यो, अब यथास्थितिमा बस्न मिल्दैन । सुधार गर्नु छ र त्यो सुधार ‘बाहिरबाट होइन, भित्रैबाट’ थाल्नु आवश्यक छ । यही सोचको जगमा २०७२ साल बैशाख २६ गतेबाट पब्लिक हाईस्कुलमा शैक्षिक गुणस्तर सुधारको अभियान औपचारिकरूपमा थालिएको हो ।
अभियान थाल्नुअघि हामीले चार आधारभूत प्रश्नमाथि गहिरो मन्थन गर्यौंः
१. सुधार गर्नुपर्ने के हो ?
२. समस्या कहाँ छ ?
३. समाधान कहाँ छ ?
४. जिम्मेवारी कसको हो ?
यी प्रश्नहरूको उत्तर खोज्ने क्रममै थाहा पाइयो—सुधारको पहिलो र सबैभन्दा महŒवपूर्ण आधार हो, एक सशक्त र समर्पित टिम निर्माण । टिम विना योजना निर्माण हुँदैन, योजना विना कार्यान्वयन हुँदैन । कार्यान्वयन विना परिणाम आउँदैन । त्यसैले सबै सरोकारवाला—विद्यालय प्रशासन, शिक्षक, व्यवस्थापन समिति, अभिभावक, पुराना विद्यार्थी, शुभचिन्तक सबैको साझा सहभागितालाई केन्द्रमा राखेर टिम निर्माण गरियो ।
कुनै पनि सुधार अभियान केवल नारा र लक्ष्यका भरमा चल्दैन । यसको लागि स्रोत, साधन र सहकार्य आवश्यक पर्छ । हामीले पहिलो कामको रूपमा आफूमा भएको स्रोत र सामथ्र्यको पहिचान ग¥यौं। ‘वाह्य दाता’ पर्खिनुभन्दा पहिला ‘आन्तरिक उत्सर्ग’ कति सम्भव छ भन्ने मूल्याङ्कन गरियो। यही सिलसिलामा पब्लिक हाईस्कुलको इतिहासमै पहिलोपटक सप्ताह ज्ञान महायज्ञ नामक धार्मिक कार्यक्रम आयोजना गरियो । यस कार्यक्रममार्फत् ठूलो आर्थिक स्रोत जुटाइयो । समुदायमा विद्यालयप्रतिको चेतना, अपनत्व र विश्वाससमेत बलियो बनाइयो । कार्यक्रमको सफलताले हामीलाई सिङ्गो टिम दृढ भएर लाग्यो भने असम्भव भन्ने केही हुँदैन भन्ने सन्देश उजागार ग¥यो ।
सरकारी सहकार्यः नमुना विद्यालयमा रूपान्तरणको अवसर
सकारात्मक पहल, योजनाबद्ध काम र परिणाममुखी सोचका कारण विद्यालयलाई नेपाल सरकारको ‘नमुना विद्यालय’ कार्यक्रममा पनि समावेश गरियो । यसबाट विद्यालयको भौतिक पूर्वाधार, प्रविधियुक्त कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय आदिमा महŒवपूर्ण सुधार भएको छ। आज पब्लिक हाईस्कुल आधुनिक संरचना, डिजिटल उपकरण र सुरक्षित वातावरणसहितको शिक्षालय बन्ने दिशामा अघि बढेको छ ।
अभिभावकको माग र समयको आवश्यकता अनुसार विद्यालयले अङ्ग्रेजी माध्यमको शिक्षण सुरुवात गरेको छ । त्यसैगरी विद्यार्थीमैत्री कक्षा कोठा, अतिरिक्त क्रियाकलाप (खेलकुद, नृत्य, गायन), कम्प्युटर शिक्षालगायत कार्यक्रम विस्तार गरियो । ग्रामीण क्षेत्रबाट विद्यार्थी आउने अवस्थालाई मध्यनजर गर्दै यातायात सुविधाको समेत सुरुवात गरियो । विद्यालयले राम्रो छवि बनाएकै कारण निश्चित अवधिका लागि मात्र भर्नाको सूचना जारी गर्नु पर्ने अवस्था छ । पहिले सरकारी स्कुल छाडेर बोर्डिङ स्कुलतिर विद्यार्थी जान्थे तर आजभोलि समय बदलिएको छ । बोर्डिङ स्कुलका विद्यार्थी पब्लिक स्कुलमा पढ्न आउन तँछाडमछाड गर्दै आएका छन् । अभिभावको चाहनाअनुसार हामीले पूरा गर्न सकेका छैनौं । यो अवस्थालाई हामीले एउटा ठूलो उपलब्धिको रूपमा लिएका छौं । उदाहरणीय सामुदायिक विद्यालय बनाउन सकेका छौं । यसका लागि प्रधानध्यापक इन्द्रमोहन झा, अभियावक शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र किराती, विद्यालयका शिक्षा, कर्मचारी अभियानका सारथि हुन् । उनीहरूको योगदान उत्तिकै उच्च छ ।
साझा जिम्मेवारी र सहभागिता
आज सुधारका जुनसुकै प्रयास सफल भएका छन् । त्यो केवल व्यवस्थापन समिति वा प्र.अ.को प्रयासबाट मात्र सम्भव भएको होइन । हरेक शिक्षक, हरेक कर्मचारी, हरेक अभिभावक, र विशेषतः विद्यालयप्रति माया राख्ने पुराना विद्यार्थीहरूको सक्रियता नै यस अभियानको आत्मा हो । जुन क्षणमा शिक्षकले कक्षा सुधारको आवश्यकता महसुस गरे, जुन बेला अभिभावकले विद्यालयप्रतिको दायित्व स्वीकारे । जुन समय प्र.अ. र व्यवस्थापन समितिले सहकार्यलाई प्राथमिकता दिए । त्यो क्षणबाट पब्लिक हाईस्कुलमा नयाँ अध्याय सुरु भयो ।
पूर्वविद्यार्थीहरुको योगदान
पुराना विद्यार्थीहरूले जुन प्रकारको सहयोग र समर्पण देखाएका छन्, त्यो साँच्चिकै प्रेरणादायी छ । केही उदाहरण हेरौंः
१. २०१२ साल समूहका सूर्यशेखर श्रेष्ठ, सुरेशकुमार शर्मा र श्यामगोविन्द श्रेष्ठले रु. ९,६२,०००।– पूर्वाधार विकासमा जुटाएका छन् ।
२. २०२५ सालका जीवन श्रेष्ठको नेतृत्वमा विद्यालयको स्मारिका प्रकाशन गरिएको छ । हालै काठमाडौंमा विमोचन कार्यक्रमसमेत भएको छ ।
३. डा. राजेन्द्र शर्मा र वीरेन्द्र थापाको पहलमा रु. १,११,०००।– छात्रवृत्ति कोष स्थापना भएको छ ।
४. गोपाल भट्टराई (२०५५) बाट रु. १,९०,०००।– को यातायात साधन सहयोग भएको छ ।
५. नेपाल सरकारका पूर्व सचिव तथा बेलायतका राजदूत चन्द्र घिमिरेबाट रु. ६,५१,०००।– को छात्रवृत्ति कोष स्थापना भएको छ ।
६. महेश प्रधान (२०३१) द्वारा गरिब तथा जेहेन्दार विद्यार्र्थीका लागि छात्रवृत्ति वितरण गरिँदै आएको छ ।
यी सहयोगहरू केवल आर्थिक संलग्नता मात्र होइनन्, विद्यालयप्रतिको गहिरो भावनात्मक नाता हुन् । जसले हरेक पब्लिक विद्यार्थीलाई गर्व र प्रेरणा दिइरहेको छ ।
पब्लिक हाईस्कुलको सुधार यात्रा सजिलो थिएन । बाटोमा धेरै अवरोध, आलोचना, शङ्का र आर्थिक चुनौतीहरू थिए । तर यथार्थ के हो भने—जब सिङ्गो टिम एक भएर, जिम्मेवारीबोधसहित, योजनाबद्ध ढङ्गले अघि बढ्छ, तब सामुदायिक विद्यालयमा पनि आमूल परिवर्तन सम्भव हुन्छ ।
शिक्षा केवल पाठ्यक्रम, किताब र परीक्षा होइन—शिक्षा हो चरित्र निर्माण, चेतना विकास र सामुदायिक समृद्धिको आधार हो । हामी पब्लिक हाईस्कुलमा यही दृष्टिकोणबाट अघि बढिरहेका छौं ।
७९औं स्थापना दिवस एक साताअघि सम्पन्न भएको छ । यही सन्दर्भमा, म विद्यालयका जग्गादाता, चन्दादाता, योगदान गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा हरेक शुभचिन्तकप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । हामी सबैको साझा सपना हो—पब्लिक हाईस्कुललाई प्रदेशकै मात्र होइन, राष्ट्रकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा चिनाउने । त्यो सपना टाढा छैन, तर त्यो सपना साकार पार्न अझै निरन्तर लगन, एकता र प्रतिबद्धताको आवश्यकता छ । सामूहिक प्रतिबद्धताको खाँचो छ ।
(लेखक पब्लिक हाईस्कुल धरानका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।)