विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट आज (आइतबार) विराटनगरमा निकालिने ऐतिहासिक एवम् भव्य राधाकृष्ण रथयात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षितरूपमा सम्पन्न गर्न मोरङ प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
लाखौं श्रद्धालु भक्तजनको उपस्थिति रहने एसियाकै दोस्रो ठूलो मानिने यस रथयात्रामा कुनै पनि अप्रिय तथा उच्छृङ्खल गतिविधि हुन नदिन प्रहरीले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर कडा सुरक्षा निगरानी बढाउने भएको हो । यसवर्ष पहिलो पटक प्रविधिको अधिकतम् प्रयोग गर्दै ड्रोनबाट समेत निगरानी गरिने भएको छ भने एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले रथयात्राको सुरक्षालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको र सोहीअनुसार विस्तृत कार्ययोजना बनाएर सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार, रथयात्रामा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप, विशेषगरी चोरी, पाकेटमारी, र भीडभाडमा हुने दुव्र्यवहार जस्ता घटनालाई निस्तेज पार्न प्रहरीले ‘शून्य सहनशीलता’ को नीति अपनाएको छ ।
“विगतका अनुभव र वर्तमान सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै हामीले पहिलो पटक रथयात्राको आकाशबाट ड्रोनमार्फत् निगरानी गर्ने व्यवस्था मिलाएका छौँ । विशाल भीडलाई एउटै नियन्त्रण कक्षबाट अनुगमन गर्न, सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गर्न र कुनै पनि शङ्कास्पद गतिविधिमाथि तत्काल नजर राख्न यो प्रविधि निकै प्रभावकारी हुनेछ” एसपी चिमरियाले भने, “ड्रोनले खिचेका दृश्यहरूलाई प्रहरीको कमाण्ड सेन्टरबाट प्रत्यक्ष निगरानी गरिनेछ, जसले गर्दा भीडभित्र हुने कुनै पनि गतिविधिलाई तत्काल पहिचान गरी नजिकैको प्रहरी टोलीलाई परिचालन गर्न सहज हुनेछ ।”
ड्रोनका साथै विराटनगरका विभिन्न चोक तथा संवेदनशील स्थानहरूमा जडान गरिएका सीसीटीभी क्यामेराहरूलाई पनि पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनेछ । ड्रोन र सीसीटीभीको एकीकृत निगरानी प्रणालीले सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने विश्वास प्रहरीले लिएको छ ।
उच्छृङ्खल तथा आपराधिक मनोवृत्तिका व्यक्तिहरूलाई भीडबाटै पहिचान गरी नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा सादा पोसाकका प्रहरी खटाइने एसपी चिमरियाले बताए । “विगतमा भारत र मधेश प्रदेशका विभिन्न स्थानबाट चोरी तथा उच्छृङ्खल गतिविधिमा संलग्न गिरोहहरू यस्ता मेलापर्वमा सक्रिय हुने गरेको पाइन्छ । त्यसैले हामीले विराटनगर प्रवेश गर्ने सबै सीमा नाका र प्रमुख मार्गहरूमा शनिबारदेखि नै कडा निगरानी र जाँचको व्यवस्था गरेका छौँ”–उनले भने ।
सादा पोसाकका प्रहरीहरू रथयात्राको मार्ग, विश्रामस्थल र भीडभाड बढी हुने क्षेत्रमा सर्वसाधारणसँगै घुलमिल भएर निगरानीमा रहनेछन् । कुनै पनि व्यक्तिले गलत हर्कत गरेको वा शङ्कास्पद गतिविधि गरेको पाइएमा तत्कालै पक्राउ गरिनेछ । “गलत गर्नेविरुद्ध प्रहरी निर्मम रूपमा प्रस्तुत हुनेछ । हामीले रथयात्राको रुटमा अगाडि र पछाडि विभिन्न स्थानमा ‘वान टन’ गाडीहरू तयारी अवस्थामा राखेका छौँ । पक्राउ परेका व्यक्तिलाई तत्काल ती गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय ल्याइनेछ” एसपी चिमरियाले चेतावनी दिँदै भने, “पक्राउ परेकाहरूलाई कसूरको प्रकृतिअनुसार सोमबार जिल्ला अदालतबाट म्याद थप गरी कानूनी अनुसन्धान अघि बढाइनेछ ।”
मोरङ प्रहरीले यस वर्ष सुरक्षाका साथै भक्तजनको स्वास्थ्यलाई पनि ध्यानमा राखेको छ । भीडभाडका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै प्रदेश प्रहरी अस्पताल र विराटनगरका निजी अस्पतालहरूसँगको सहकार्यमा रथयात्रा मार्गमा ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ । घाम, गर्मी वा अन्य कारणले कसैलाई स्वास्थ्य समस्या आइपरेमा तत्काल प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्यकर्मीसहितको टोली तैनाथ रहनेछ ।
ऐतिहासिक रथयात्रा
वि.सं. १९८८ सालमा ‘खटयात्रा’ का रूपमा सुरु भई २०२५ सालदेखि रथयात्रामा परिणत भएको यो यात्राको आफ्नै ऐतिहासिक र धार्मिक महत्व छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्राले करिब ९ किलोमिटरको दूरी तय गरी पुनः मन्दिरमा आएर समापन हुन्छ । रथयात्राका लागि यस वर्ष पुरानो रथलाई विस्थापन गरी १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो कलात्मक नयाँ रथ प्रयोगमा ल्याइएको छ ।
रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुग्नेछ । यात्राका क्रममा ४४ विभिन्न स्थानमा रथलाई विश्राम गराइनेछ । नेपाल तथा छिमेकी मुलुक भारतबाट समेत गरी करिब ५ लाख भक्तजन सहभागी हुने अनुमान आयोजकको छ । यही विशाल जनसहभागितालाई शान्तिपूर्ण र सुरक्षित बनाउन मोरङ प्रहरीले आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको जनाएको छ ।