धरान । सुनसरीको धरानमा कोरा राइड साइक्लिङ च्यालेन्ज शनिबार सम्पन्न गरिएको छ ।
धरानको भानुचोकबाट सुरु भएको कोरा राइड धरानका विभिन्न धार्मिक स्थलहरूमा पुगेर धरान–१७ स्थित साकेला पार्कमा समापन गरिएको आयोजक प्याडलर्स धरानका अध्यक्ष किशन मास्केले जानकारी दिए । कार्यक्रमको उद्घाटन सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले गरे । कोरा राइडमा सुनसरीको धरान, इटहरी, तरहरा, झुम्का, मोरङको विराटनगर, पथरी, उर्लाबारी, झापाको बिर्तामोडसहित मधेश प्रदेशको बाराबाट पनि राइडर्सहरू सहभागी भएको अध्यक्ष मास्केले जानकारी दिए ।
कोरा राइडमा यसपटक २ सय ७५ जना राइडर्स सहभागी भएका थिए । प्याडलर्स धरानले सन् २०२४ बाट कोरा राइड सुरु गरेको हो । कोरा राइडमा बालबालिकादेखि वृद्ध राइडर्ससम्म सहभागी भएका थिए । नेपालमा सन् २०११ देखि कोरा राइड हुँदै आएको भए पनि धरानमा सन् २०१७ बाट सुरु भएको थियो । धरानका केही साइक्लिङ समूहहरूले सुरु गरे पनि हाल प्याडलर्सले आयोजना गर्दै आएको छ । विशेषगरी धार्मिक क्षेत्रहरूको परिक्रमा गरिँदै आएको छ । ‘कोरा’ को खास अर्थ पनि ‘धार्मिक स्थलमा परिक्रमा गर्नु’ भन्ने हुन्छ । तिब्बती भाषामा ‘कोरा’ को अर्थ ‘धार्मिक श्रद्धालुहरू गुम्बा तथा चैत्यका वरिपरि घुम्नु’ लाई जनाउँछ ।
तर, यहाँ भने साइक्लिङमार्फत् कोरा गरिँदै आएको छ । साइक्लिङ च्यालेन्जको रूपमा लिए पनि यो प्रतियोगितात्मक नहुने गरेको कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए । खासमा प्रदर्शनात्मक हुँदै आएको छ । धरानको भानुचोकबाट सुरु भएको ¥याली पुतलीलाइन, जनपथ, धरान–१६ हुँदै विभिन्न ठाउँका मन्दिर तथा गुम्बाहरूको परिक्रमा गरी धरान–१७ स्थित साकेला पार्कमा पुगेर टुङ्गिएको थियो । कार्यक्रमको समापनमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघालगायतको सहभागिता रहेको थियो । साइक्लिङमार्फत् धरानको धार्मिक पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । च्यारिटी फन्डका लागि यो कार्यक्रम गरिँदै आएको छ । कार्यक्रमको दूरी करिब ३२ किलोमिटर रहेको थियो ।