विराटनगर–३ स्थित बालसुधार गृहमा एक पोका सुर्तीबाट सुरू भएको विवादले जुन प्रकारको उग्र रुप लियो, त्यसले हाम्रो सुधार गृहको प्रशासनिक कमजोरी उजागार गरेको छ । एकातिर सुधार गृह बाल बिज्याइँकर्तालाई सुधार गर्ने र समाजमा पुनःस्थापित गर्ने उद्देश्यले निर्माण गरिएको संरचना हो, अर्कोतिर त्यही स्थानमा बारम्बार हिंसा, अव्यवस्था, सुरक्षाको कमजोरी र प्रशासनिक असफलता देखिनु दुःखद् र चिन्ताजनक विषय हो । सामान्यजस्तो देखिने सुर्ती सेवन प्रकरणले झडपको रुप लिँदा प्रहरीमाथि आक्रमण, कार्यालय र भवनहरुका सिसा  तोडफोड तथा ३०–५० जनासम्म बालकको एकैचोटी भाग्ने प्रयास हुनु सामान्य घटना मान्न सकिँदैन । यो सुधार गृह व्यवस्थापनमा रहेको गम्भीर संरचनात्मक र प्रशासनिक कमजोरीको उदाहरण हो । समयमै प्रहरीले नियन्त्रणमा लिएको भए तापनि यसले देखाएको सुरक्षा कमजोरीलाई नजरअन्दाज गर्न मिल्दैन ।

सुधार गृहमा भएको यो झडप वा बालबिज्याइँकर्ता भाग्ने प्रयासको घटना नयाँ होइन । यसअघि पनि ‘नाइके’ र ‘क्याप्टेन’ नामधारी बालकहरुद्वारा अन्य बालकहरुलाई दिइने यातना, दुव्र्यवहारका शृङ्खलाहरु पनि बाहिरिएकै हुन् । यी सबै घटनाहरुले सुधार गृहभित्र शक्ति सन्तुलन, अनुशासन र देखभालको अभाव स्पष्ट देखिन्छ । सुधार गृहहरु सुधारका नाममा अर्को प्रकारको हिंसात्मक थलो बन्दै गएको अनुमान लगाउन असहज छैन । यस्ता घटनापछि प्रशासनमात्र गम्भीर भएर हुँदैन । आखिर यस्ता समस्या बारम्बार किन दोहोरिन्छन् ? यसबारे गम्भीर समीक्षा गरेर सुधारतिर जानु बाञ्छानीय हुनेछ । बालसुधार गृह महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालनमा छन् । त्यहाँ हतियारधारी सुरक्षाकर्मी राख्न कानूनी प्रतिबन्ध छ । तर यही प्रतिबन्ध आजका दिनमा सुरक्षा चुनौतीमा रुपान्तरण भएको छ । अर्कोतर्फ, संरचना जीर्ण हुनु, पर्खालको उचाइ न्यून हुनु र क्षमताभन्दा धेरै बालक राखिनुले प्रशासनिक बेवास्ता र नीति निर्माणको कमजोरीलाई झल्काउँछ । यी र यस्ता विषयमा पनि प्रशासनले ध्यान पु¥याउनु पर्ने देखिन्छ । 

बुधबार बालसुधार गृहमा भएको घटनालाई सामान्य ‘बालकहरुको झगडा’ भन्दै पन्छाउनु र पन्छिनु किमार्थ उचित हुँदैन । सुधार गृहहरु सुधारका केन्द्र हुन्, अत्याचारको होइन । यदि अब पनि यस्ता घटनामा सरकार, प्रशासन र सम्बन्धित मन्त्रालयहरुले ठोस नीतिगत र संरचनागत सुधार ल्याएनन् भने सुधार गृहहरुले ‘सङ्कट गृह’ को रुप लिने खतरा थप बलियो हुने कुराप्रति सचेत हुनु पर्दछ । बालसुधार गृहहरुमा सुधार ल्याउन अब कडाइका साथ संरचनागत पुनरावलोकन आवश्यक छ । चाहे त्यो सुरक्षाको पक्षमा होस्, चाहे सामाजिक पुनस्र्थापनाको कार्यविधिमा । यस्ता घटनालाई सामान्य मानेर प्रशासन नबसोस् । सुधार गृहको थप अध्ययन गरेर व्यापक सुधार ल्याउनु आजको आवश्यकता हो ।