धरान । इटहरी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीले पालिकामा चरम् आर्थिक अनियमितता र चुहावट भएको आरोप लगाएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै मेयर चौधरीले वर्तमान नगर प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
“उपमहानगरपालिकामा चरम् आर्थिक अनियमितता र चुहावटको प्रष्ट गन्ध भेटिन्छ” पत्रकार सम्मेलनमा उनले भने, “स्थानीय सरकारले उपमहानगरपालिकालाई आ–आफ्ना पार्टी कार्यकर्ता भर्ती केन्द्रको रूपमा परिणत गरेका छन् । यो दुःखद् हो ।”
आफूले गौरवका आयोजना सुरु गरेको भए तापनि ती योजनाहरूलाई प्राथमिकता नदिएको उनले बताए । जनसरोकारका प्रमुख योजनामा प्रगति नदेखिएको र स्थानीय सरकार विकासका एजेन्डामा अलमलिएको उनको आरोप थियो ।
समयमा बजेट नल्याएर नगरबासीको भविष्यमाथि खेलवाड गरेको भन्दै प्रमुख र उपप्रमुख ‘बजेट होलिडे’ मा रमाइरहेकोमा उनले आपत्ति जनाएका छन् ।
पूर्व नगर प्रमुख चौधरीले अधुरा र बजेट तोकिएका परियोजनाहरूलाई तत्काल कार्यान्वयनमा ल्याउन नेतृत्वलाई सुझाएका छन् । राजनीतिक आस्थाभन्दा माथि उठेर पारदर्शी र परिणाममुखी काम गर्न वर्तमान नेतृत्वलाई उनको आग्रह छ ।