विराटनगर । निर्माण सुरु भएको ६ वर्षमा पनि काम नसक्ने हुलाकी सडक निर्माणमा चरम् ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले मोरङ, सुनसरी र सप्तरीका तीन खण्डमा काम गरिरहेका निर्माण कम्पनीहरूलाई सम्झौताबमोजिम काम नगरेको भन्दै ठेक्का किन रद्द नगर्ने भनी १५ दिने स्पष्टीकरण सोधेको छ ।
योजना कार्यालय इटहरीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै तीनवटा ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको हो । मोरङको कटहरी–रामचोक–हाटखोला ६ किलोमिटरको जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि. हेटौंडा, सुनसरी खण्डः इनरुवा–कप्तानगञ्ज २२ किलोमिटरको जिम्मा लिएको गौरी पार्वती–देव र श्यार भूमी जेभी विराटनगर, सप्तरी खण्डः भारदह–बलान २० किलोमिटरको जिम्मा लिएको शर्मा–बञ्जरा–लोहनी र ब्रदर्श जेभी ललितपुरलाई स्पष्टीकरण सोधिएको हो ।
यी कम्पनीहरूले सम्झौता अनुसारको कार्य सम्पादनमा निराशाजनक प्रगति देखाएको भन्दै सार्वजनिक खरिद ऐनअनुसार ठेक्का सम्झौता किन अन्त्य नगर्ने भनेर कार्यालयले अन्तिम चेतावनी दिएको हो । योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले कार्यप्रगति न्यून देखिएपछि कारबाहीको प्रक्रिया अगाडि बढाउनु परेको जानकारी दिए ।
मोरङको कटहरी खण्डको दुर्दशा प्रतिनिधिमूलक घटना हो, जहाँ ठेकेदारको लापरबाही र सरकारी उदासीनताको प्रत्यक्ष मारमा आम नागरिक परेका छन् । ६ वर्षदेखि निर्माणाधीन यो ६ किलोमिटर सडकको भौतिक तथा आर्थिक प्रगति जम्मा २७ प्रतिशत हुनुले नै निर्माण कार्यको गति कस्तो थियो भन्ने स्पष्ट पार्छ । हिलाम्मे र खाल्डाखुल्डीले भरिएको सडकमा हिँडडुल गर्नसमेत मुस्किल भएपछि केही दिनअघि स्थानीयले साङ्केतिक विरोधस्वरूप सडकमै धान रोपेका थिए ।
यो विषय प्रदेशसभादेखि सङ्घीय संसद्सम्म पटक–पटक उठेको थियो । तर, जब नेकपा (माओवादी केन्द्र) का सांसद् अमनलाल मोदी, प्रदेशसभा सदस्य भीम पराजुलीले पनि केही दिनअघि सभामा आवाज उठाएका थिए ।
सांसद् मोदीको पहलमा मङ्गलबार काठमाडौँमा सडक विभागका महानिर्देशकको कार्यकक्षमा आकस्मिक बैठक बसेको थियो । बैठकमा सांसद् मोदी र अर्का सांसद् योगेन्द्र मण्डलसहित सडक विभागका महानिर्देशक डा. विजय जैसी, हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपाली, योजना प्रमुख युवराज पोखरेल र ठेकेदार कम्पनी श्रेष्ठ कन्स्ट्रक्सनका प्रतिनिधिहरूको उपस्थिति थियो ।
संसद्मा अनसन बस्ने चेतावनीको दबावपछि ठेकेदार पक्ष अन्ततः काम तत्काल सुचारु गर्न सहमत भएको बताइएको छ । बैठकमा भएको सहमति अनुसार, श्रेष्ठ कन्स्ट्रक्सनले चार दिनभित्र काम सुरु गर्ने र १५ दिनभित्र बीचको बाटोमा दुईतर्फी गाडी सहजरूपमा चल्न सक्ने गरी निर्माण कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
सहमति पत्रमा उल्लेख भएअनुसार, ठेकेदार पक्षले तत्काल २ वटा रोलर, २ वटा ग्रेडर र ७ देखि १० वटा टिपरसहित आवश्यक कामदार परिचालन गर्नुपर्नेछ । यदि १५ दिनभित्र यो सहमति कार्यान्वयन नभएमा ठेक्का स्वतः तोडिने र सम्झौता नवीकरण नहुने कडा शर्तमा ठेकेदार पक्षले हस्ताक्षर गरेको छ । योजना कार्यालय इटहरीका प्रमुख पोखरेलले सहमतिअनुसार काम नभए ठेक्का तोड्नका लागि विभाग दृढ रहेको बताए ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा कुल ४४ किलोमिटर पर्छ । त्यसमध्ये कटहरीको रामचोकदेखि हाटखोलासम्मको ६ किलोमिटर खण्डको कथा निराशाजनक छ । २०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि. हेटौंडाले ७७ करोड रुपैयाँमा निर्माणको ठेक्का लिएको थियो । निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि काम २७ प्रतिशत मात्रै सकिएको छ ।