धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा. बिक्रम श्रेष्ठ नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले सिफारिसमा परेका चार जनामध्येबाट डा. श्रेष्ठलाई मंगलबार उपकुलपतिको जिम्मेवारी दिएका हुन्। उनले आफ्नो नियुक्ति पत्र भने बुधबार लिने बताइएको छ।
उपकुलपति पदका लागि सिफारिसमा परेका अन्य तीन जनामा प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादव थिए । सामान्यतयाः तीन जनाको नाम सिफारिस गर्ने चलन भए पनि, यस पटक चर्को दबाब र लबिङका कारण प्रा.डा. श्रेष्ठको नाम पनि समावेश गरी चार जनाको सूची पठाइएको थियो।
डा. श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुन्। यसअघि उनले प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्। लामो समयदेखि प्रतिष्ठानमा स्थानीय व्यक्तिलाई नै उपकुलपति बनाउनुपर्ने माग हुँदै आएको थियो, र यसपटक डा. श्रेष्ठको नियुक्तिका लागि प्रतिष्ठानभित्रैबाट पनि सशक्त लबिङ भएको थियो।