धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–११ मधुवनबाट प्रहरीले ७८ केजी गाँजा बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार  सोही ठाउँका ५० वर्षीय मुस्ताक मियाँको घरबाट प्रहरीले खानतलासी गर्दा ३ वटा प्लाष्टिकमा पोका पारेर राखेको अवस्थामा गाँजा बरामद गरेको हो ।

आइतबार दिउँसो ४ बजेतिर प्रहरीले लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मधुवन र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा ७८ केजी गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासहित मियाँ र गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा सोही नगरपालिका–६ का बलराम यादवलाई नियन्त्रणमा लिएको छ । 

उनीहरूले गाँजा बोक्नका लागि प्रयोग गरेको भारतीय नम्बर प्लेटको बिआर १० एक्यू ५५४७२ नम्बरको मोटरसाइकल पटेर घारीमा लुकाएर राखेको अवस्थामा बरामद गर्न सफल भएको छ । यस्तै सुनसरीको इनरुवा नगरपालिका–४ बाट अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले सुनसरी इटहरी उपमहानगरपालिका–५ का ५३ वर्षीय विशाल माझी र सोही ठाउँका २५ वर्षीय सचिन लिम्बूलाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा चिरौलीचोकबाट सखुवागाछीतर्फ पैदल जाँदै गरेको अवस्थामा उनीहरूलाई जाँच गर्दा २ दशमलव ३८ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ । प्रहरीको नियन्त्रणमा रहेका उनीहरूलाई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।