इनरुवा । सुनसरीमा पछिल्ला केही दिनमा दैनिकजसो दुर्घटना भएको छ । शनिबार मात्रै कोशी राजमार्गअन्तर्गत इटहरी–धरान सडक–खण्डको पानीपियास्थित जङ्गलमा दुर्घटना हुँदा एकै परिवारका दुईजना युवाको निधन भएको थियो । 

यो घटना भएको दुई दिन नबित्दै सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सवारी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दिक्तेलतर्फ जाँदै गरेको मे.१ ख १७९९ नम्बरको मातृ डिलक्स र राजविराजबाट विराटनगर जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो बिहान सवा ७ बजेतिर भोक्राहा नरसिंह गाउँपालिका–३ मा आपसमा ठोक्किएका थिए । ठोक्किएका कारण माइक्रोमा रहेका कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा, सप्तरी मधेवाका ३५ वर्षीय शङ्कर मण्डल, विराटनगर महानगरपालिकाका ४० वर्षीय अशोक यादव र सप्तरी तिरहुतकी ६० वर्षीया अनारवतीदेवी यादव रहेको प्रहरीले जनाएको छ । उपचारको क्रममा मोरङ विराटनगरस्थित नोबेल अस्पतालमा सप्तरी गोइठी–३ का ६८ वर्षीय जीवछ महात्माको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार शङ्कर, लक्ष्मण र अशोकको ग्लोबल कार्डियो एन्ड न्यूरो अस्पताल भोक्राहामा मृत्यु भएको हो भने अनारवतीको जिल्ला अस्पताल इनरुवामा निधन भएको हो । दुर्घटनामा कुल २८ जना घाइते भएका थिए । त्यसमध्ये ३ जना डिस्चार्ज भएका छन् भने अन्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा अधिकांश माइक्रोमा सवार यात्रु रहेका छन् । 

प्रहरीका अनुसार उपचार भइरहेका घाइतेमा मोरङ सुन्दरहरैँचाकी अम्विका राई, खोटाङ रावाबेँसीकी निरुता परियार, सोही स्थानका निर्मल परियार, सप्तरी मधेवाका रविन्द्र मण्डल, उदयपुर चौदण्डीका रेनुका श्रेष्ठ, झापा शिवसताक्षीका खगेन्द्र थापा, भद्रपुरका दीपक विक, इलाम चुलाचुलीका सविन राई, सप्तरीका रविन्द्र मेहता र सप्तरीकै ममता साह रहेका छन् । उनीहरूको भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्यूरो अस्पतालमा उपचार भैरहेको छ । 

त्यस्तै मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा झापा अर्जुनधाराका सत्य राई, सप्तरी राजविराजका रुद्र राय, विराटनगरका शोभा यादव, राजविराजका प्रमोद रजक, रवि राय, भोला यादव र प्रदीप यादव रहेका छन् । त्यसैगरी सुनसरी कोशी श्रीपुरका जोेगिन्द्र दास र डाकेश्वरी नपाका अमृता रायसमेतको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचाररत सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये खोटाङ हलेसीका नेत्रलाल गिरी र उनको छोरा केदार गिरीसहित सप्तरी राजविराजका सन्तोष बास्तोला सामान्य उपचारपश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटना तीव्र गतिका कारण भएको बताइएको छ । 

राजविराज हुँदै विराटनगर गुड्ने माइक्रो हरेक महिनाजसो सानो–ठूलो दुर्घटनामा पर्दै आएको प्रहरीले जनाएको छ । यात्रु कोचेर तीव्र गतिमा हुइँकिने राजविराज–विराटनगर चल्ने माइक्रो यसअघि पटक–पटक इनरुवा–दुहबी र कोशी ब्यारेज–भोक्राहा सडक–खण्डमा दुर्घटनामा पर्दै आएको थियो । माइक्रोको गति नियन्त्रण गर्न इनरुवा–दुहबी सडक–खण्डमा टाइम कार्ड लगाइएको छ । टाइम कार्डमा कडाइ नहुँदा दुर्घटना बढ्दै गएको छ ।

यस्तै सप्तरीमा भएको सवारी दुर्घटनामा शम्भुनाथ नगरपालिका–८ पोखरियास्थित भित्री सडक–खण्डमा टेम्पो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ कनकपटी बस्ने अन्दाजी २४ वर्षीय अजयकुमार चौधरीको मृत्यु भएको डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । गम्भीर घाइते भएका उनलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । 

सोही दुर्घटनामा टेम्पो चालक शम्भुनाथ नगरपालिका–८ पोखरियाका ४५ वर्षीय मणिलाल मण्डल र उनकी ४० वर्षीया पत्नी आशादेवी मण्डल घाइते भएको प्रहरीले जनाएको छ । पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पो र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।