इलाम / पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो करिब १२ बजे घरबाट करिब ३ सय मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिए । राई कान कम सुन्ने खुल्न आएको प्रहरी डिएसपी राईले बताए । घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको उनले जानकारी दिए ।