विराटनगर । ऐतिहासिक विरासत बोकेको विराटनगरको प्रसिद्ध राधाकृष्ण रथयात्राको ५८ औं संस्करणमा आइतबार हजारौँ श्रद्धालुहरू सहभागी भएका छन् ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुँदै आएको रथयात्रामा हजारौँ श्रद्धालु सहभागी भई रथयात्रालाई भव्य बनाएका थिए । यस वर्षको रथयात्रामा कलात्मक नयाँ रथको प्रयोग गरिएको थियो । विराटनगर–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट दिउँसो करिब ४ बजे विशेष पूजाआर्चनापछि रथयात्रा सुरु भएको थियो । रथयात्राले नगरको करिब ९ किलोमिटर लामो दूरी परिक्रमा गरेको थियो । रथयात्रा सुरु हुनुभन्दा घण्टौँ अघिदेखि नै मन्दिर परिसर र रथयात्रा मार्गमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, भजनमण्डली र नृत्य समूहहरूको प्रस्तुतिले वातावरणलाई सङ्गीतमय र भक्तिमय बनाएको थियो । रथयात्राको मार्ग तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा नै पुगेर समापन भएको थियो ।
यात्राका क्रममा रथलाई नगरका ४४ स्थानमा विश्राम गराइएको थियो जहाँ श्रद्धालुहरूले पूजाअर्चना र दर्शन गरेका थिए । यस वर्षको रथयात्रामा कोशी प्रदेशका मोरङ, सुनसरी, झापालगायतका जिल्लाहरूबाट मात्र नभई सीमावर्ती भारतीय राज्य बिहार र पश्चिम बङ्गालबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आएका थिए । आयोजक समितिले यस वर्ष नेपाल र भारतबाट गरी करिब ५ लाख भक्तजन सहभागी हुने अपेक्षा गरेको थियो । रथको डोरी छोएमा वा तानेमा पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वासका कारण रथयात्रामा सहभागी हुन आउनेहरूको भीड व्यवस्थापन गर्न सुरक्षाकर्मी र स्वयम्सेवकहरूलाई हम्मेहम्मे परेको थियो ।
यसपटकको रथयात्राको मुख्य आकर्षण नयाँ रथ नै रह्यो । २०२५ सालदेखि प्रयोगमा रहेको पुरानो रथ जीर्ण भएपछि यस वर्षदेखि १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ प्रयोगमा ल्याइएको हो । प्यागोडा शैलीमा निर्माण गरिएको यो रथलाई स्वदेशी तथा विदेशी कालिगडहरूले विभिन्न देवीदेवताका आकृति र कलात्मक बुट्टाहरू कुँदेर तयार पारेका थिए । विराटनगर महानगरपालिकाले रथ निर्माणका लागि ४४ लाख ७८ हजार रुपैयाँ सहयोग गरेको थियो । नयाँ र विशाल रथमा सवार राधाकृष्णको युगल मूर्तिलाई सबैले सहजै दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
ऐतिहासिकता र सांस्कृति
वि.सं. १९८८ मा ‘खटयात्रा’ का रूपमा रथयात्रा सुरु भएको थियो । त्यसबेला राधाकृष्णको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराउने गरेको अग्रज पुस्ता बताउँछन् । २०२२ सालमा बयलगाडाको प्रयोग गरियो भने २०२५ सालदेखि स्थानीय समाजसेवी भूपालमानसिंह कार्की र सत्यनारायण धनावतको पहलमा रथ निर्माण गरी विधिवत्रूपमा रथयात्रामा परिणत गरिएको हो ।
त्यसयता यो यात्रा निरन्तर चल्दै आएको छ र यसलाई भारतको जगन्नाथ पुरीपछिको एसियाकै दोस्रो ठूलो रथयात्रा मानिन्छ । यो रथयात्रा केवल धार्मिक अनुष्ठान मात्र नभएर सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकसमेत बनेको जानकारहरू बताउँछन् । रथयात्रामा सबै जातजाति र समुदायका मानिसहरूको उत्साहपूर्ण सहभागिताले साम्प्रदायिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने गरेको छ । रथयात्रालाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाले पनि विशेष सक्रियता देखाएको थियो । महानगरले बरगाछीदेखि रोडशेषसम्मको डिभाइडरमा लगाइएका फूल र बिरुवाको संरक्षणका लागि विशेष स्वयम्सेवक परिचालन गरेको आयोजकले जनाएको छ ।
शङ्कास्पद गतिविधिमा संलग्न दुई दर्जन पक्राउ
हजारौँको भीडलाई मध्यनजर गर्दै मोरङ प्रहरीले रथयात्राको सुरक्षा व्यवस्था कडा बनाए पनि शङ्कास्पद गतिविधिको आशङ्कामा दुई दर्जनलाई पक्राउ गरेको जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकमा खटिएका एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी तीन घेराको सुरक्षा रणनीति अपनाइएको थियो । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार रथयात्रालाई पूर्णरूपमा शान्तिपूर्ण र सुरक्षित बनाउन अत्याधुनिक ड्रोन प्रविधिबाट समेत हवाई निगरानी गरिएको थियो । आपराधिक र गलत हर्कत गरेको आशङ्कामा करिब दुई दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनका अनुसार केही भारतीय नागरिक पनि पक्राउ परेका छन् ।