संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका क्षेत्रमा यत्तिबेला मालबाहक सवारी साधन रोकिएको छ ।
गाउँपालिकाको छ्याङकुटीदेखि गाउँपालिका कार्यालय बीचमा ४० वटा जति ट्रक तथा अन्य सवारी साधानहरू रोकिएका हुन् । अरुण तेस्रोको निर्माणमा प्रयोग हुने सामाग्री तथा स्थानीयबासीहरूको सामान लिएर आएका गाडी बाटो बिग्रिएपछि रोकिएको गाउँपालिका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । निरन्तर परेको वर्षाका कारण बाटो हिलाम्मे भएपछि गाडीहरू फसेका हुन् ।
३ दिनदेखि पालिका क्षेत्रमा गाडी फसिएको र बाटो मर्मत गर्न सम्बन्धित कार्यालयहरूमा अनुरोध गरी सकिएको अध्यक्ष शेर्पाले बताए । प्रशासन, सडक डिभिजनलगायतका कार्यालयहरूमा अनुरोध गरिए पनि हालसम्म गाडी निकाल्ने र बाटो मर्मत गर्नमा कुनै चासो नदेखाएको उनले गुनासो गरे ।
गाडीका स्टाफलाई खानमा समस्या
बाटो बिग्रिएका कारण सवारी चालकहरू थुनिएका छन् तर उनीहरूले खान पनि पाएका छैनन् । चिचिला बजारमा भएका साना होटल तथा खाजा घरहरूले खानेकुरा दिन सकेका छैनन् । कोरोना भाइरस संक्रमण हुने डरले बसै पसलहरू बन्द छन् । पसलहरू बन्द भएसँगै गाडीका करिब ६० जना स्टाफहरू खान पाएको छैन । स्थानीय होटल व्यवसायीहरूलाई उदृत गर्दै गाउँपालिका अध्यक्ष शेर्पाले भने, ‘बाहिरबाट आएका सवारी चालकहरूलाई खानेकुरा दिन नै डराएका छन् ।’
उनका अनुसार कोरोना त्रासका कारण बाहिरबाट आएकाहरूले खाने कुरा पाएका छैनन् । अरुण तेस्रो निर्माणाधीन स्थल ड्यामसाइड फ्याक्सिन्दामा जिम्मेवारी पाएको जेपी ग्रुपले आफ्ना सवारीलाई स्काभेटर ल्याएर निकाल्न थालेको छ तर उनले आफ्ना साधानमात्र निकालेको र स्थानीयको साना सवारीलाई बेवास्ता गरेको गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ ।
फोटोः बाटोमा फसिएको गाडी ।