इटहरी/ रानी–विराटनगर–इटहरी–धरान अन्तर्गत ६ लेन सडकको रोकिएको इटहरी खण्ड लकडाउनमा पनि धमाधम काम भइरहेको छ ।

इटहरी मुख्यचोक आसपासमा निर्माणाधीन ६ लेन सडकको कामलाई अहिले ठेकेदारहरूले प्राथमिकता दिएका छन् । इटहरीको मुख्यचोक क्षेत्रको सडक–खण्ड करिब ५ महिनाअगाडि भत्काइएको थियो तर निर्माण कार्य ढिलाइ हुँदा स्थानीय व्यापारी आक्रोसित बनेका थिए ।

लकडाउनको बेला निर्माण कार्यलाई तीव्रता दिइएको ६ लेन सडक आयोजना कार्यालय इटहरीले जनाएको छ । इटहरीको धरान लाइन र विराटनगर लाइनमा सडकको आसपास भत्काएको कारण व्यापार–व्यवसाय धरासायी हुँदै आएको थियो । अहिले लकडाउनकै समयमा इटहरी चोकमा भने धमाधम काम भइरहेको ६ लेन सडक आयोजनाका इञ्जिनियर उपेन्द्र दास बताउँछन् ।

६ लेन सडक विस्तार सुस्त हुँदा इटहरी चोकका व्यापारीहरू मारमा परेको भन्दै आक्रोसित बनेका थिए । होटल व्यवसायी सङ्घ इटहरीका उपाध्यक्षसमेत रहेका ओम पाथीभरा होटलका सञ्चालक तेजबहादुर पुरीले ६ लेन सडक लकडाउनको समयमा बनेको प्रति खुशी व्यक्त गरे ।

इटहरी चोकमा निर्माणको काम सुस्त हुँदै आएकोले यसलाई तीव्र रूपमा विस्तार गर्न इटहरीका व्यवसायी बलराम आचार्यको माग छ । सडक विस्तारको कामलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन उनले माग गरे ।

सडक विस्तार कार्य दु्रत गतिमा नबढ्दा व्यवसायीहरू मारमा पर्दै आएको भन्दै अहिले छिटो काम गर्दा राहत मिलेको बताए । सडक विस्तारको कामले अहिले इटहरी र तरहरा क्षेत्रको मुख्य सडक भने धुलाम्मे र हिलाम्मे हुन थालेको छ ।