ताप्लेजुङ/ कोरोना सङ्क्रमणका कारण विश्व सङ्कटमा छ । दिनानु दिन सङ्क्रमणको दर बढ्दै गएपछि मानिसहरू त्रासमा छन् ।
अर्कातिर लामो समयसम्मको लकडाउनले व्यापार–व्यवसाय ठप्प हुँदा शहरी क्षेत्रका नागरिकलाई थप समस्या भएको छ । तर ग्रामीण क्षेत्रका बासिन्दा भने यो बेला सङ्क्रमणको त्रासलाई भुल्न बाध्य छन् । खेतीपातीकै भरमा गुजारा चलाउँदै आएका उनीहरू बिहानदेखि साँझसम्म खेतबारीमा व्यस्त देखिएका छन् ।
कोरोनाको सङ्क्रमणले मुलुक लकडाउनमा रहेपछि दुई महिनासम्म घरैमा बसेका ताप्लेजुङका ग्रामीण क्षेत्रका बासिन्दा यतिबेला खेतीपातीको काममा व्यस्त छन् । मानो खाएर मुरी उब्जाउने समय आएपछि कोरोनाको त्रासलाई भुलेर पनि उनीहरू बिहानदेखि साँझसम्म खेतबारीको काममा व्यस्त देखिएका हुन् ।
जिल्लाका सिंचाइ उपलब्ध ठाउँमा रोपाइँ शुरु भएको छ भने अन्य क्षेत्रमा खेत सम्याउने, खनजोत र मलजल लगाउने जस्ता काम धमाधम भइरहेको छ । सङ्क्रमणबाट जोगिनका लागि भौतिक दूरी कायम गरेर पनि किसानले खेतबारीको काम गरिरहेको फुङ्लिङका कृषक योगेश्वर निरौलाले बताए ।
पछिल्लो समय युवाहरू शहरतिर केन्द्रित भएका कारण गाउँघरमा काम गर्ने जनशक्ति नभएकाले बेलैदेखि खेतीपातीमा किसान जुट्ने गरेका छन् । पहिले पहिले ज्यालामा कामदार पाउने गरे पनि आजभोलि ज्यालामा कामदार पाउन छाडेको अर्का किसान पदम निरौला बताउँछन् ।
कृषि क्षेत्रमा प्रशस्त सम्भावना भए पनि पर्याप्त जनशक्ति नहुँदा र आधुनिक प्रविधिको प्रयोग नहुँदा समस्या छ । कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने युवा कृषक राजेश लिम्बू बताउँछन् । यता काम गर्ने उमेरका युवा गाउँबाट शहर पलायन हुँदा उत्पादन समेत घट्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
ताप्लेजुङमा ८ हजार ६ सय ५३ हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ भने १९ हजार १ सय २० मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्रसार अधिकृत विनय महर्जनले जानकारी दिए । सङ्क्रमणका बीच पनि आफू बाँच्न र अरूलाई बचाउन किसानहरू खेतबारीमा तल्लीन छन् ।