- अनिल श्रेष्ठ
विराटनगर/ हात, खुट्टा सुकेर हड्डी र छाला मात्र देखिन्छ । हिँडडुल गर्न सक्दैनन् । बोली फुट्दैन । श्रीमती र छोरालाई मुस्किलले चिन्दछन् । विराटनगरस्थित गोल्डेन अस्पतालको दोस्रो तलाको २० नम्बर बेडमा रहेका ४२ वर्षीय गणेशकुमार राईको अवस्था हो यो ।
खोटाङ घर भई हाल इटहरी नगरपालिका–२० तरहरामा डेरी गरी बस्ने राईले उपचार गरेको अस्पताल र फार्मेसीको गरी १० लाख ६५ हजार रुपैयाँ तिर्न नसक्दा आठ महिनादेखि श्रीमती र छोरा अस्पतालमा छन् । राईको पहिलो चरणको उपचार सकिएको छ । उपचार गर्दै आएका चिकित्सकले उनलाई फिजियोथेरापीमा लैजान सल्लाह दिएका छन् । तर, उपचारको पैसा तिर्न नसक्दा र उपचारकै अभावमा गणेश अस्पतालको शय्यामा छट्पटाइ रहेका छन् । गणेशकी श्रीमती विष्णुमाया तामाङ राई र छोरा सन्तोष भावविहीन छन् । श्रीमान्को जीवन रक्षाका लागि श्रीमती र छोरा हारगुहार गरिरहेका छन् । विष्णुमाया र सन्तोषले उपचार खर्चका लागि अरूसामु याचना गर्दै आएका छन् ।
गत कात्तिक १२ गते भाइटीकाको दिन मोरङको लेटाङमा टेम्पो दुर्घटनामा परी राई गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट थियो । तरहराबाट आफन्तको टेम्पो रिजर्व गरी मोरङको लेटाङ गएका थिए । टेम्पो चालक जसोधन राई र टेम्पो चालककी श्रीमती पनि टेम्पोमा सवार थिए । चालक र उनकी श्रीमती सामान्य घाइते भए । गम्भीर घाइते भएका गणेशलाई गोल्डेन अस्पतालमा भर्ना गरेका थिए । गणेशको टाउकोमा गहिरो चोट लागेका कारण अहिले पनि उनी हिँडडुल गर्न सक्दैनन् । गणेशको रेखदेखमा आठ महिनादेखि श्रीमती विष्णुमाया र छोरा सन्तोष छन् ।
‘श्रीमान्को उपचारमा भएको सम्पत्ति र ऋण खोजेर अस्पतालमा हालसम्म ६ लाख बुझाएँ । अहिले आफूसँग एक पैसा छैन’ अस्पताल परिसरमा भेटिएकी विष्णुमायाले गहभरि आँसु झार्दै भनिन्, ‘चिकित्सकले घर लैजान सल्लाह दिँदा पनि अस्पताललाई पैसा दिन नसक्दा श्रीमान्लाई घर लैजान दिइएको छैन ।’ राईको उपचार गर्दा ६ लाख रुपैयाँ अस्पताललाई बुझाइसकेका छन् ।
जेठ ७ गतेसम्म ८ लाख ६५ हजार बुझाउनुपर्ने अस्पतालले हिसाब निकालेको छ । फार्मेसीमा २ लाखको बिल पुगेको बताइएको छ । उक्त रकम तिर्न नसक्दा आठ महिनादेखि अस्पतालमा बाध्य भएर बस्नुपरेको छोरा सन्तोषले बताए । ‘बाबालाई यति धेरै पैसा तिरेर यहाँबाट लैजाने हामीसँग पर्याप्त पैसा छैन । भएको पैसा र ऋण खोजेर अहिलेसम्म ६ लाख तिरिसक्यौं’ उनले भने, ‘अब ल्याउने बाटो पनि कहीँ छैन ।’
दुर्घटना गराउने चालक जसोधन राई पनि श्रीमान्को उपचार गराउनबाट पन्छिएको विष्णुमायाले बताइन् । ‘उपचार गरेको यतिका दिन भइसक्दा पनि श्रीमान् अझै ठीक हुन सक्नुभएको छैन’ विष्णुमायाले शøयामा छट्पटाइ रहेका श्रीमान्तर्फ हेर्दै भनिन्, ‘आफूसँग भएको पैसा पनि उपचारमा सकियो । बाँकी रकम जमानी बसेर श्रीमान्लाई घर लैजान्छु भन्दा पनि अस्पतालले दिएको छैन ।
अस्पताल प्रशासनले उपचारमा लागेको सबै पैसा दिनू, अनि मात्र बिरामी लैजानु भन्दै आएको छ ।’ आफूजस्तो दुःखीको वेदना कसैले नबुझेको उनको गुनासो छ । ‘श्रीमान्को उपचार गर्न घरखेत सिध्याएर पुस्तौंका लागि ऋणै(ऋणको बोझ बोकिरहेका छौं’ उनले भनिन्, ‘रोगले थलिएका र उपचार अभावमा छट्पटाइरहेका हामीजस्तो गरिब दुःखीको विलौना राज्यले पनि नसुन्दो रहेछ ।’
लामो समय अस्पतालमा बस्दा श्रीमान्को उपचारमा पैसा सकेपछि खाना खाने पैसासमेत नभएको उनीहरूको भनाइ छ । लामो समयदेखि विष्णुमायाले कोशी अस्पतालमा मनकारीहरूले बाँड्ने खाना खाँदै आएकी छन् भने उनका छोराले अस्पताल छेउमा रहेको किरात होटलमा खाना खाँदै आएका छन् । उनीहरूको आर्थिक अवस्थासमेत कमजोर भएका कारण कात्तिकदेखि नै खाना खुवाउँदै आएको किरात होटलकी सञ्चालिका मुना राईले बताइन् ।
यता गोल्डेन अस्पतालका प्रबन्धक मोहम्मद जियाउलले दुर्घटना भएर अस्पताल आएपछि शल्यक्रिया गरेर अहिले उपचार भइरहेको बताए । प्रबन्धक मोहम्मदले भने, ‘अस्पतालको तर्फबाट हामीले सक्ने सहयोग पनि गर्दै आएका छौं । थप उपचारको लागि फिजियोथेरापी लैजानुपर्ने भएकाले पैसा अभावका कारण अहिले उहाँहरू जान सक्नुभएको छैन ।’ बिरामीको आर्थिक अवस्था पनि कमजोर भएका कारण अस्पतालको तर्फबाट केही रकम छुट गर्न सकिने तर पूरै रकम मिनाहा गर्न भने नसकिने उनले बताए ।