- सिंह चाम्लिङ राई
उदयपुर/ लामो समयदेखि अलपत्र परेको कोशी करिडोर उदयपुरका ३ वटा स्थानीय तहले निर्माण गर्ने भएका छन् । करिब १० वर्षदेखि अलपत्र परेको मध्यपहाडी राजमार्गसँग जोडिने कोशी करिडोर घुर्मी–चतरा सडक कटारी नगरपालिका, ताप्ली र लिम्चुङ्बुङ गाउँपालिकाले निर्माण गर्ने भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस) को अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय बैठकले अलपत्र पारेको सडक पालिकाहरू आफैले निर्माण गर्ने निर्णय गरेको हो ।
सडक निर्माणको लागि पालिकाले आगामी आर्थिक वर्षको बजेटबाट ४ करोड रकम विनियोजन गरेर सडक निर्माण गर्ने भएका छन् । सडक निर्माणको सर्भे गर्दा वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययन नगरेको भन्दै साविक जिल्ला वन कार्यालय उदयपुरले रोकेपछि सडकको ट्रयाक खोल्ने काम अलपत्र परेको थियो ।
यस करिडोरले जिल्लाको कटारी नगरपालिका, ताप्ली, लिम्चुङ्बुङ, रौतामाई गाउँपालिका, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकालाई छोएको छ । घुर्मी–चतरा १ सय ६७ किलोमिटर दूरी रहेको सडक– खण्डको ट्रयाक खोल्ने काम केन्द्रीय सरकारले २०६७ सालदेखि निर्माण कार्य शुरु गरे पनि अहिले अलपत्र पारेको छ । अलपत्र रहेको सडक निर्माणको लागि सोही पालिकाहरूले संयुक्तरूपमा ४ करोड लगानी गर्ने निर्णय गरेको हो ।
यो सडक खोटाङ, सोलुखम्बु, ओखलढुङ्गालाई प्रदेश १ को राजधानी विराटनगर जोड्ने छोटो दूरीको सडक पनि हो । सुनसरी, धनकुटा, भोजपुरलगायतका पूर्वी नेपाललाई राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सडक भएकाले रोकिएको काम शुरु गराउन प्रदेश र सङ्घीय सरकारलाई जनप्रतिनिधिले पटक–पटक माग गर्दै आएको लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए ।
जिल्लाको ७ वटा स्थानीय तहलाई करिडोरले छुने भएकाले विराटनगर, काठमाडौंलगायतका शहर आवत–जावतमा सहजता र कृषि, पर्यटनमा फाइदा पुग्ने अध्यक्ष राईले बताए । निर्माण शुरु भएर रोकिएको काम पुनः शुरु गराउन लागिपरे पनि सङ्घीय सरकारले बेवास्ता गरेको गुनासो गरे ।
२०६७ सालमा २० वटा निर्माण कम्पनीले २० ठाउँबाट ट्रयाक खोल्न शुरु गरेको थियो । तर वन कार्यालयले ईआईए नगरेको भन्दै रोकेको थियो । १ सय ६७ किलोमिटरमध्ये ६० किलोमिटर सडक– खण्ड मात्रै टेण्डर लागेर ट्रयाक खोल्ने काम भएको थियो । सबै प्रक्रिया पूरा भएपछि पनि काम शुरु नभएकाले स्थानीय तह आफै मिलेर सडक निर्माण कार्यमा जुटेको ताप्ली गाउँपालिका उदयपुरका अध्यक्ष उद्धवसिंह थापाले बताए ।
सरकार र ठेकेदारबीचको समस्या समाधन हुँदा पनि सडक निर्माणको काम अघि बढेको छैन । पटक–पटक डेलिगेसन गएर सङ्घीय सरकारलाई काम सुचारु गराउन आग्रह गरे पनि अहिलेसम्म काम शुरु नभएकाले कटारी नगरपालिकाको घुर्मीबजारदेखि लिम्चुङ्बुङको गाउँपालिकाको कुनाही घाटसम्म सडक निर्माण गर्ने गरी चार करोड विनियोजन गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताए ।
करिडोरले छुने ७ वटै पालिका मिलेर घुर्मी–चतरा सडक सम्पन्न गर्ने गरी अघि बढेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । शुरुमा घुर्मीदेखि क्रमशः काम अघि बढाउँदै लैजाने योजना छ । विस्तारै रौतामाई गाउँपालिका, त्रियुगा, चौदण्डी र बेलका नगरपालिकासँग सहकार्य गरेर काम गर्ने उनले बताए ।
२ सय ६९ मिटर अग्लो सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी कमला डाइभर्सन परियोजनाको कारण पनि कोशी करिडोर रोकिएको जानकारहरू बताउँछन् । नेपाल र भारत सरकारको संयुक्त योजनामा निर्माण हुने परियोजनाको डिपिआरले निर्माणाधीन सुनकोशी करिडोर क्षेत्र पनि डुबानमा पर्ने देखाएकाले करिडोर निर्माण रोकिएको जानकारहरूको भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणका बेला सन् १९९१ डिसेम्बरमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने सहमति भएको थियो । त्यही परियोजनाको सन् २००४ देखि डिपिआर हुँदैछ । जुन डिपिआरमा कोशी किनारको उदयपुर र सुनसरी, धनकुटा, भोजपुर, खोटाङलगायतका १० जिल्लाका साविकका ७० वटा गाविसका सयौँ बस्ती प्रभावित हुने भएपछि चौतर्फी विरोध अहिले पनि जारी छ ।