• मिकाइल आलम

भण्टाबारी/ कार्यालय भनेपछि कम्तीमा ट्युवेल, शौचालय भएको सफा र व्यवस्थित हुनुपर्ने हो । झन् खुला दिसामुक्त घोषणा भइसकेको क्षेत्रमा त शौचालय निर्माण भई नियमित प्रयोगमा आएको हुनुपर्छ । सुनसरी जिल्ला खुला दिसामुक्त घोषणा भएको दुई वर्षबढी भयो ।

यसर्थ कतिपय सर्वसाधारणको पहुँचमा शौचालय नपुगे तापनि सरकारी कार्यालयहरूमा शौचालय बनेको र प्रयोगमा आएको भन्ने कुरा मान्नुपर्छ । तर, न एउटा पानी खाने ट्युवेल, न त शौचालय नै भएको सरकारी कार्यालय छ भन्दा सायद पत्याउन गाह्रो होला । १९ वर्षपछि कर्मचारीतन्त्रको अन्त्य गर्दै जनताले प्रतिनिधि छान्न भोट हाल्दै गर्दा आशावादी देखिन्थे । अब आफ्नै गाउँघरबाट छिटोछरितो सेवा पाइने, विकास, समृद्धि, सुशासन, जवाफदेहिता र पारदर्शिता हुन्छ भन्दै सर्वसाधारण उत्साहित देखिन्थे । तर, तीनवर्षको अवधिमा पटक–पटक बजेट विनियोजन गरे पनि आफ्नै कार्यालयको एउटा शौचालयसमेत बनाउन नसक्ने जनप्रतिनिधिबाट अरू के अपेक्षा गर्ने भन्दै भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ का स्थानीय निराश भएका छन् । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको स्थानीय बताउँछन् ।

बजेट सकियो, शौचालय बनेन
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ को कार्यालयमा बिहीबार पुग्दा कार्यालय बन्द थियो । केही समयको प्रतीक्षापछि आएका कार्यालय सहयोगी अनवारुल मन्सुरीले कार्यालयमा एक्लै हुँदा कार्यालय बन्द गरेर आफू शौच गर्न घर जाँदा कार्यालय बन्द गर्नुपरेको बताए । कार्यालय स्थापना भएदेखि नै ट्युवेल र शौचालयको समस्या रहेको बताउँदै उनले वडाध्यक्ष र सचिवको ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको बताए । ‘पानी र शौचालय त अति आवश्यक हो’ मन्सुरीले भने, ‘दिसा गर्न शौचालय बनाउनु पर्ने हो । तर, तीन वर्ष बित्यो अझै एउटा शौचालय बनेको छैन, न त पानी खाने ट्युवेल नै ।’

‘वडा कार्यालयको शौचालय बनाउन दुईपटक गरी ७ लाख बजेट विनियोजन भएको सुनेको छु’ उनले भने, ‘तर, अहिलेसम्म पर्खालमात्र खडा भयो ।’ ओडिएफ घोषणा भइसकेको क्षेत्रको सरकारी कार्यालयमै शौचालय र पानी खाने ट्युवेल नहुनु दुःखद् कुरा भएको सोही कार्यालयका नायव सुब्बा सीताराम मेहता बताउँछन् । ‘दिसापिसाब गर्ने र पानी खाने व्यवस्था छैन, हामी कसरी कार्यालयमा बस्ने ?’ उनले भने, ‘मान्छेले पिसाब र दिसा कसरी रोक्न सक्छ ?’ ‘नेपाल सरकारले अहिले हातखुट्टा साबुनपानीले राम्री धोएर मास्क र सेनिटाइजर प्रयोग गर्दै सेवाग्राहीलाई सेवा दिन भनेको छ’ मेहताले थपे, ‘तर, यहाँ त पानी छैन, कसरी हात धुनु ? पानी खानै समस्या छ ।’

कार्यालयमा बस्दैनन् वडाध्यक्ष र सचिव
भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ का वडाध्यक्ष हात्तिम अन्सारी र वडाका सचिव बेचुकुमार माझी कार्यालयमा बस्ने गरेका छैनन् । महिनामा उनीहरू मुस्किलले ५ देखि १० दिनसम्म मात्र कार्यालय आउने गरेको कार्यालय सहयोगी मन्सुरी बताउँछन् । ‘वडाध्यक्ष र सचिव कार्यालय आउँदैनन्’ उनले भने, ‘आए पनि १–२ घण्टा बसेर हिँड्नुहुन्छ ।’ कानूनअनुसार तोकआदेश बिना कुनै काम गर्न मिल्दैन तर आफूले बाध्यात्मक अवस्थामा मानवीय हिसाबले काम गर्ने गरेको उनले बताए । ‘वडाध्यक्ष र सचिव कहिलेकाहीँ कार्यालय आएपछि तोक लगाइदिन्छौं’ उनले थपे, ‘कतिपय सेवाग्राही वडाध्यक्ष र सचिव कार्यालय नआएपछि हस्ताक्षर गराउन उनीहरूलाई खोज्दै हिँड्छन् ।’

यता भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ का वडाध्यक्ष हात्तिम अन्सारीले वडा कार्यालयको शौचालय र अन्य काम गर्न एकपटक मात्र २ लाख ३४ हजार बजेट विनियोजन भएको बताए । उपभोक्ता समितिमार्फत् शौचालयको वाल निर्माण कार्य भएको र अरू बाँकी काम छिट्टै गर्ने उनले दाबी गरे । कार्यालय किन नआएको भन्ने जिज्ञासामा अन्सारीले भने, ‘कार्यालय आउँदिन भने काम कसरी हुन्छ । १० देखि ५ बजेसम्म कार्यालय बस्ने म कुनै कर्मचारी होइन । मेरा अन्य कामहरू पनि छन् ।’