वराहक्षेत्र/ पहिला गाउँलेलाई छिमेकी तथा आफन्तकहाँ जानको लागि धेरै समय खर्च गर्नुपथ्र्यो । अर्कोतिर लामो बाटो भएर खोला तर्नुपर्ने बाध्यता । सबैभन्दा बढी डर त अभिभावक लाई विद्यालय गएका साना विद्यार्थीलाई खोलाले बगाउला भन्ने त्रास ।

तर वर्षौं अघिदेखि जोखिम मोल्दै आएका वराहक्षेत्र नगरपालिकाको वडानम्बर २ जब्दीका स्थानीय अब मुक्त हुने भएका छन् । वर्षौं अघिदेखिको समस्याबाट उनीहरूले उन्मुक्ति पाएका हुन् ।

एउटा वडाबाट अर्को वडामा जान पहिले पूरै घण्टा समय बिताउने गाउँले अहिले छिमेकी वडा मात्र होइन, नगरपालिका कार्यालय रहेको चक्रघट्टी बजारमा समेत मिनेट भरमा पुग्न उनीहरूलाई सम्भव भएको छ । नगरपालिकाको जब्दी गाउँमा सडक र त्यहाँ रहेको गहने खोलामा कल्भर्ट निर्माणको काम चलिरहेको छ ।

निर्माणाधीन करिब ३ सय ५० मिटर लम्बाइ र २० फिट चौडाइ भएको ग्राभेलयुक्त सडकमा ७ मिटर लम्बाइ र साढे २ मिटर चौडाइ तथा उचाइ रहेको पुलको काम अन्तिम चरणमा रहेको २ र ७ कल्भर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष अरविन्द राजधामीले बताए ।

नगरपालिकाको नगर योजना अन्तर्गत १५ लाख बजेटले सडकको काम दुई हप्ताअगाडि शुरु गरिएको थियो । कल्भर्टको काम करिब सकिएकोले दुई–चार दिनभित्रै सडकको काम पनि टुङ्गिने अध्यक्ष राजधामीले बताए ।

नगरपालिकाको वडानम्बर २ र ७ लाई जोड्ने सडकको काम चैत्रमा नै शुरु गरिने भनिए पनि लकडाउनले गर्दा निर्माण सामग्री र गाडीको अभावले गर्दा ढिलो गरी शुरु गरिएको उनले बताए ।

गाउँमा सडक नहुँदा धेरै समस्या थियो । ‘गाउँलेको खेतसँगै जोडिएर रहेको छिमेकी वडा देवीघाट पुग्न हिँडेर दश मिनेट लाग्नेमा हामीलाई लामो बाटो भएर खोला तर्नु पर्दा करिब १ घण्टा लाग्दथ्यो । अनि खोलाले हामीजस्ता वृद्धवृद्धा र साना केटाकेटीलाई बगाउला भन्ने त्रास पनि त्यति नै । अरू बेला त केही सहज भए पनि वर्षाको समयमा धेरै जोखिम मोल्नु पर्ने, तर अहिले सडक र पुल एकसाथ बन्ने भएपछि सजिलो भएको छ’–स्थानीय ज्येष्ठ नागरिक जितबहादुर राईले भने ।

गहने खोलाले पहिला धेरै दुःख दिएको थियो । स्थानीय गाउँले, किसान र विद्यार्थीलाई आउजाउ गर्न कठिन थियो । खेतमा जानको लागि खोला तर्नुु पथ्र्यो । बाटो नहुँदा शरीरभरि हिलैहिलो हुनु पर्ने बाध्यता थियो ।

तर अब बाटो बनेपछि सबैलाई फाइदा पुगेको छ । अहिले सबैलाई धेरै सजिलो पनि भएको छ । ‘नगरपालिकाले यसलाई विशेष प्राथमिकता दिएर पक्की सडक बनाइदिए स्थानीयलाई अझ बढी फाइदा पुग्ने थियो’–खेतमा भेटिएका स्थानीय हिमाल राईले भने ।

सडक र पुल एकसाथ बनेपछि त्यसको सबैभन्दा बढी लाभ विद्यार्थीलाई भएको छ । वडानम्बर २ र ७ दुवैतर्फका विद्यार्थीलाई छिटो विद्यालय पुग्ने एक मात्र विकल्प त्यही खोला नै हो ।

दुवैतर्फ रहेको ४ वटा निमावि र माविस्तरका विद्यालयका सयौं विद्यार्थीले नियमित उक्त खोलाको बाटो प्रयोग गर्दछन् । साविकको वराहक्षेत्र र महेन्द्रनगर गाविसलाई जोड्ने सबैभन्दा छोटो दूरीको सडकले जोडिएपछि सबैलाई सहज भएको छ । पुल निर्माण भएपछि विशेष गरेर साना कक्षाका विद्यार्थीहरूलाई समयमा विद्यालय पुग्न सहज र खोला तर्नुपर्ने डरसमेत हटेर गएको छ । सडक र पुलबाट करिब ४ सय घर प्रत्यक्ष लाभान्वित भएको स्थानीय गोविन्द खड्काले बताए ।