भद्रपुर / नेपाली सेनाका प्युठसहित झापामा आठ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कोरोना पुष्टि भइसकेको छ । जिल्लाको गौरादह नगरपालिकाका पाँच र भद्रपुर नगरपालिकाका ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
गौरादहमा पुष्टि भएका सङ्क्रमितमध्ये दुई जना सशस्त्र प्रहरी रहेका छन् । सशस्त्र प्रहरी बल इलाममा कार्यरत भई घर बिदामा आएका दुई र साउदी अरबबाट फर्किएका तीन पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । गौरादहबाट एक सय १५ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा पाँच जनाको मात्र रिपोर्ट पोजेटिभ आएको गौरादहका स्वास्थ्य शाखाका संयोजक पर्शुराम भट्टराईले बताए ।
त्यस्तै भद्रपुर नगरपालिकामा पुष्टि भएका तीन जनामध्ये एक जना नेपाली सेनाका ३३ वर्षीय प्युठ रहेका छन् । उनी श्री नयाँ श्रीनाथ गण चाराआलीमा कार्यरत हुन् । घरबाट फर्किएपछि उनको कलबलगुरी क्वारेन्टाइनमा स्वाब सङ्कलन गरिएको भद्रपुर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । अन्य दुई जना दुबईबाट फर्किएका २५ वर्षीया महिला र ४० वर्षीय पुरुष रहेको उनले बताए ।
भद्रपुरबाट साउन २० गते गरिएको ३४ जनाको स्वाब सङ्कलनमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्लामा सोमबार पुष्टि भएका आठ जना कोरोना सङ्क्रमितलाई कहाँ राख्ने भनी अन्योल सृजना भएको छ । योसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ६ पुगेको छ, भने उपचारपछि निको भएर ३ सय ४३ जना घर फर्किसकेका छन् ।