भद्रपुर / माछापालनका लागि पोखरी बनाउने भन्दै माटो उत्खनन् गरेर आफ्नो इँटा उद्योगमा माटो ओसार्न थालेपछि झापाको कचनकवल–६ का स्थानीय बासिन्दा आक्रोसित भएका छन् ।

चण्डी इँटा उद्योग सञ्चालक विष्णु घिमिरेले माछा पोखरी बनाउने भनेर स्थानीय आसमा साबुद्दिनको एक बिघा, बब्लू मियाँबाट साढे ७ कठ्ठा र रमा राजवंशीको ८ कठ्ठा गरी साढे ३५ कठ्ठा खेतीयोग्य जमिन खरिद गरेर माटो उत्खनन् गर्न थालेपछि कृषकहरू आक्रोसित भएका हुन् ।

  यसअघि पनि घिमिरेले वडा ७ मा अर्काको जमिन खरिद गरेर माछा पोखरी बनाउने भन्दै माटो उत्खनन् गरेका थिए । उनले माटो उत्खनन् गरेपछि न पोखरी बनाए, न त त्यसमा माछापालन नै गरे । खेतीयोग्य जमिनको माटो जति सबै आफ्नो इँटा भट्टामा प्रयोग गरेको देखेका स्थानीय बासिन्दाले तीन दिनयता माटो उत्खनन्को विरोध गर्दै आएका छन् । 

घिमिरेले माटो उत्खनन् गरेपछि सँधियारहरू मनोज भेट्वाल, भद्रीया राजवंशी, अमृतलाल राजवंशीको जमिन जोखिममा परेको छ । सोही क्षेत्रमा पावनी राजवंशीले समेत उब्जनीका लागि ७ कठ्ठा जमिन खरिदका लागि ६ लाख रुपैयाँ अग्रिम दिइसकेकी छन् ।

यी लगायत दर्जन बढी कृषकहरूको जमिन सो क्षेत्रमा रहेको छ । प्रहरी प्रशासनको बलमा घिमिरेले खेती गरेर खाने किसानको पेटमा लात मारेको जग्गाधनी अमृतलाल राजवंशीले बताए । उनले भने, ‘स्थानीय बासिन्दाबाट जमिन खरिद गरेपछि विष्णु घिमिरेले माछा पोखरी बनाउने बहानामा खेतीयोग्य जमिनको माटो इँटा उद्योगमा प्रयोग गर्दा जमिन खाल्डो बन्ने भएकाले विरोध जनाएका हौं ।’

उनले इँटा उद्योगका सञ्चालक घिमिरेले स्थानीय कृषकमाथि अन्याय गरेको आरोप लगाएका छन् । उनले माछा पोखरी बनाउने बहानामा खेतीयोग्य जमिनको माटो उत्खनन् गरेर इँटा उद्योगमा प्रयोग गरे गोली खान तयार रहेको पनि बताए ।  

घिमिरेले इँटा उद्योगका लागि आवश्यक पर्ने माटो उत्खनन् गर्न चलनचल्तीको भन्दा बढी रकम दिएर स्थानीय बासिन्दाबाट जमिन खरिद गरेका थिए । सँधियार भाद्रीया राजवंशीले घिमिरेले गरिब किसानको गरिखाने खेत नै खोला बनाइदिएपछि बाँच्ने कुनै आधार नभएको बताए ।

उनले भने, ‘विरोधपछि राति–राति प्रहरी राखेर घिमिरेले माटो लैजाने गरेका छन् । बरु म गोली खान तयार छु तर, उद्योगलाई माटो लैजान दिन्नँ ।’ इँटा उद्योगका लागि खरिद गरेको जमिनको माथिल्लो तहको उर्वर माटोविहीन भएपछि खेतीयोग्य नहुने र अरू सँधियारको पनि खेत बिग्रने उनको भनाइ छ ।

जमिन भाडामा लिएर खेती गर्दै आएका सिर्जना कृषि फर्मका सञ्चालक तथा सँधियार मनोज भेट्वालले  उद्योगले माटो लैजान थालेपछि समस्यामा परेको खेतको पानी सबै खाल्डोतिर रसाउने बताए । उनले भने, ‘खेतीयोग्य जमिनमा सिँचाइ सुविधाका लागि सहकारीले अनुदान स्वरूप दिएको पानी तान्ने मोटर, बिजुली, सोलार खेर जाने अवस्थामा छन् ।’

नौलो भविष्य साना किसान सहकारीका प्रबन्धक लक्ष्मी बजगाईंले किसानलाई खेतीपातीका लागि राहत उपलब्ध गराए पनि इँटा उद्योगका कारण कृषकहरू बिचल्लीमा परेको बताइन् । उनले भनिन्, ‘तत्काल उद्योगले जमिनको माटो उत्खनन् बन्द गर्नुपर्छ ।

सरकारले कचनकवल गाउँपालिकालाई धानको सुपरजोन पनि घोषणा गर्ने र इँटा उद्योग सञ्चालन गर्न पनि दिने यो कुन नियम हो ?’  गाउँपालिकाले माछा पोखरीका नाममा बर्सेनि बजेट विनियोजन गर्दै इँटा उद्योगलाई माटो बेच्ने काम बन्द गरिनु पर्ने वडानम्बर ६ का अध्यक्ष कुलबहादुर कार्कीले बताए ।

वार्षिक १८ बिघाको माटो गाउँपालिकाबाट उत्खनन् भइरहेकोले अबकोे केही वर्षभित्र गाउँपालिका खोलामा परिणत हुने उनले बताए । धानको सुपरजोन मानिएको कचनकवलमा सरकारी मापदण्ड पुर्याएर काम गर्नुपर्ने उनको भनाइ छ । कचनकवलमा हालसम्म ६ वटा इँटा उद्योग सञ्चालनमा रहेका छन् । 

चण्डी इँटा उद्योग सञ्चालक विष्णु घिमिरेले व्यवसाय गर्ने उद्देश्यले माटो उत्खनन् गरिएको बताए । स्थानीयको अनुमतिमा नै माटो लैजाँदै आइरहेकोमा केहीले उछालेर आफ्नो विरोध भएको उनको भनाइ छ । उनले भने, ‘गाउँपालिकाभरि पोखरी नै पोखरी खनिरहँदा कोही नबोल्ने तर व्यावसायिक रूपमा काम गर्न लाग्दा विरोध जनाउनु भनेको व्यवसायीमाथि आक्रमण गरिनु हो ।’

गाउँपालिका उपाध्यक्ष नीमसरी राजवंशीले स्थानीयस्तरमा यो विषयमा कानून नबनेकाले दुवै पक्ष राखेर छलफल गरी निकास निकालिने बताइन् । उनले घिमिरेसँग असन्तुष्ट स्थानीयले गत बुधबार न्यायका लागि निवेदन पनि दिइसकेको हुँदा छलफलको विषय बनेको बताइन् ।