धनकुटा। धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिँधुवा बजार र आसपासको क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले आफूहरूले वर्षौंदेखि प्रयोग गर्दै आएको चिहानडाँडा समाधिस्थल बिना जानकारी भत्काइदिएको भन्दै आक्रोस पोखेका छन् ।

नेवार समुदायले वर्षौंदेखि प्रयोग गर्दै आएको सार्वजनिक चिहानडाँडा डोजर लगाएर भत्काउने स्थानीय रामबहादुर थापा भनिने डम्बरबहादुर थापालाई शनिबार एक विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका छन् । थापाले आफ्नो नामको जग्गामा निजी कृषि फार्म खोलेको र फार्मसम्म जाने बाटोको लागि भन्दै चिहानडाँडामा डोजर लगाएर चिहान भत्काएर मोटरबाटो खोलेको नेवार समुदायले बताए ।

उनीहरूले व्यक्तिगत स्वार्थको लागि धार्मिकस्थलमाथि अतिक्रमण गरेर सामाजिक सद्भाव बिथोल्ने कार्य भएको भन्दै आपत्ति जनाएका छन् । सिँधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् नेवार समुदायका अगुवा शिवकुमार श्रेष्ठले नेवारहरूको वि.सं.१९०० सालभन्दा अघिदेखि सिँधुवाका बासिन्दाले प्रयोग गर्दै आएको ऐतिहासिक समाधिस्थलमाथि आक्रमण भएको बताए ।

उनले वर्षौंदेखि चर्चिंदै आएको समाधिस्थललाई सार्वजनिक चिहानडाँडाको रूपमा वि.संं.२०३१ सालको नापीमा कायम गरिएको बताए । सामाजिक तथा सांस्कृतिक धरोहरको रूपमा रहेको समाधिस्थल जस्तो सार्वजनिक क्षेत्रमा मनोमानी ढङ्गले गरिएको अतिक्रमणप्रति नेवारी समुदायले विज्ञप्तिमार्फत् भत्र्सना गरेका छन् । 

छथरजोरपाटी गाउँपालिकामा समाधिस्थलको रूपमा सूचीकृत भइसकेको गाउँपालिकाले जनाएको छ । समाधिस्थललाई थप व्यवस्थित बनाउन आवश्यक प्रक्रिया अघि बढिरहेको बेला सरोकारवाला कसैलाई जानकारी नदिई व्यक्तिगत फाइदाको लागि गरिएको कार्य निन्दनीय भएको बताइएको छ ।

उनीहरूले विज्ञप्तिमार्फत् छथरजोरपाटी गाउँपालिका र स्थानीय प्रशासनको पनि ध्यानाकर्षण गराएका छन् । करिब ५ सय मिटर मोटरबाटो खन्दा चिहानडाँडामा १५ वटाभन्दा बढी चिहान खनिएको स्थानीय हिलटप होटलका सञ्चालक एवम् नेवार समुदायका अगुवा प्रकाश श्रेष्ठले बताए । उनले आफ्नो जेठी भाउजूको चिहानसमेत थापाले डोजर लगाएर उत्खनन् गरी पहिचान नै मेटाएको बताए । 

त्यसैगरी सिँधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठका बाजेहरूको ४ वटा चिहान पनि भत्काइएको उनले बताए । त्यस्तै स्वर्गारोहण भएको वर्ष दिनसमेत नपुगेको स्थानीय राजु श्रेष्ठको चिहान पनि मोटरबाटो खनेर लडाउन लागेको भाइ बुहारी पवित्रा श्रेष्ठले बताइन् । उनले चिहान बनाउन सम्पूर्ण तयारी भइरहेको अवस्थामा जेठाजुको चिहान नै लड्ने अवस्थामा पुगेको भन्दै दुःखेसो पोखिन् । 

यता चिहानडाँडामा डोजर लगाएर बाटो खनाउने रामबहादुर भनिने डम्बर थापाले भने आफ्नो जग्गामा दर्शन बहुउद्धेश्यीय एग्रो कृषि फार्म खोलेकाले मुख्य सडकसँग जोड्न सडक विस्तार गरिएको बताए । बाटो खन्दा चिहान भत्किएको उनले स्वीकारेका छन् । तर, उनले स्थानीयले भने जस्तो १०–१५ वटा चिहान नभत्किएको दाबी गरे । 

उनले आफ्नो फार्ममा बाख्रापालन, लोकल कुखुरापालन, टर्कीपालन गर्ने तयारी भइरहेको बताए । सिँधुवा बजारदेखि करिब २ किलोमिटरको दूरीमा रहेको फार्ममा १० लाखभन्दा बढी लगानी गरिसकेको बताए । उनले उक्त चिहानडाँडा भएको जग्गा आफ्नो बाबु खड्गबहादुर थापाको नाममा ७ नम्बर फारम रहेको दाबीसमेत गरे । 

यता छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले भने चिहानडाँडा विवादको विषयमा आफूलाई जानकारी आएको बताए । उनले चाँडै दुवैपक्ष राखेर समस्याको समाधन गर्ने बताए । दुवै पक्ष राखेर समस्या समाधान गर्न खोज्दा नभए कानूनी उपचारमा अघि बढ्ने उनले बताए । 

dkt-dada2

dkt-dada