यासोक। तेह्रथुमको आठराई गाउँपालिकामा पम्पिङ प्रविधिको खानेपानी योजना अघि बढ्ने भएपछि पाँचथरको कुम्मायक क्षेत्रमा सञ्चालित पम्पिङ प्रविधिको प्रभावकारिताबारे निरीक्षण गरेको छ ।
आठराई गाउँपालिकाका लागि सङ्घीय सरकारले ३२ करोड रकम विनियोजन गरेको छ । गाउँपालिकामा पम्पिङ प्रविधिको खानेपानी योजना अघि बढ्ने भएपछि कुम्मायकमा सञ्चालित खानेपानी आयोजनाबारे निरीक्षण गरेको हो ।
पहाडी क्षेत्रमा पम्पिङ प्रविधिको खानेपानी आयोजनाको प्रभावकारिताबारे गाउँपालिका उपाध्यक्ष रूपादेवी कन्दङ्वा नेतृत्वको टोलीले निरीक्षण गरेको छ । गाउँपालिकामा खानेपानीको स्रोत सुक्न थालेपछि पम्पिङ प्रविधिको योजना ल्याउनलागेको हो । ‘होडा गाउँ टुँडिखेल नागेश्वरी’ लिफ्ट खानेपानी योजनाको डीपीआर हुन लागेको उपाध्यक्ष कन्दङ्वाले बताइन् ।
‘हामीले पहिलो पटक खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न पम्पिङ खानेपानी योजना अघि बढाएका छौं’ उनले भनिन्, ‘कुम्मायकमा त्यस्तो योजना कसरी सञ्चालन भइरहेको छ र यसको अनुभव, प्राविधिक कठिनाइ आदिको अध्ययन र अवलोकनले सहयोग पुग्छ भन्ने विश्वास छ ।’
आठराई गाउँपालिकाको पम्पिङ खानेपानी आयोजनाले सङ्क्रान्ति, इवा, छातेढुङ्गा र चुहानडाँडा गरी ४ वटा वडाका २ हजार बढी घरधुरी समेट्ने भएको छ । गाउँपालिकाको अन्य वडामा पनि सानो योजनाको पम्पिङ खानेपानी योजना सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ ।
योजनाको अवलोकनमा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, आठराई गाउँपालिका–३, ४, ५, ६ र ७ नम्बरका वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
मिक्लाजुङको दलित पाश्र्वचित्र तयार
पाँचथरको मिक्लाजुङ गाउँपालिकाले दलित पाश्र्वचित्र तयार पारेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा समता नेपाल पाँचथरले पाश्र्वचित्र तयार पारेको हो ।
दलित समुदायको पाश्र्वचित्र सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष अमरराज माखिमलाई हस्तान्तरण गरिएको समता नेपाल पाँचथरका अध्यक्ष सहमान विश्वकर्माले बताए । दलित समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका क्षेत्रमा उनीहरूको समान पहुँचको अवस्था पाश्र्वचित्रमा समावेश गरिएको विश्वकर्माले बताए ।
गाउँपालिकामा हाल २ सय ४९ घरधुरी दलित समुदायका १ हजार ३ सय १९ जनसङ्ख्या बसोबास रहेको छ । गाउँपालिकालाई लक्षित समुदायसम्म पुगेर नीति तथा कार्यक्रम बनाउन दलित पाश्र्वचित्रले ठूलो सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए ।