विराटनगर। अवैध रुपमा भारतदेखि ल्याएको मोवाइलको ब्याट्री र मोवाइल बनाउने उपकरणहरू सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानीले आइतबार तस्करी भएर आएको मोवाइलको ब्याट्री र मोवाइल बनाउने उपकरण बरामद गरेको हो ।
सशस्त्र प्रहरीले स्यामसुम, नोकिया, एमआइ, अपोलगायतका विभिन्न कम्पनीहरूको ब्याट्री बरामद गरेको छ । प्रहरीले बरामद गरेको १६ सय एम्पीयरदेखि ४ हजार ६ सय एम्पीयरसम्मका ब्याट्रीहरु रहेका छन् ।
सशस्त्र प्रहरीले ९ सय ४३ थान ब्याट्रीहरु र मोवाइलको स्क्रीन चेन्ज गर्ने तीन थान उपरकण पनि बरामद गरेको छ ।
बरामद भएको ब्याट्री र उपकरण ३ लाख ९० हजार ५ सय मुल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले विराटनगर – १५ हुलास चौकदेखि अगाडी रहेको चाइना बजारदेखि उक्त सामाग्रीहरू बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
तस्करी गरि ल्याएको मोवाइल बनाउने उपकरण क्यारिङ्गवाले चाइना बजारको एउटा पसलमा लुकाएर राखेको थियो । लुकाएर राखेको अवस्थमा सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेको हो ।
तस्करीको उपकरण ल्याउने गिरोह भने फरार छन् । फरार भएकाको पनि प्रहरीले खोजीकार्य तिव्र बनाएको छ । नेपालमा भन्दा भारतमा चाइनाको इलेक्ट्रिक र मोवाइलको सामाग्रीहरूको ठूलो परिमाणमा आउने गर्दछ ।
नेपालमा भन्दा भारतमा मोवाइलको सामाग्रीहरूमा सस्तोमा पाइने भएकोले तस्करीमा लागेका गिरोहले अनेक जुक्ति लगाएर यस्ता सामाग्री नेपाल तिर तस्करी गर्दछन् ।
बरामद भएको समाग्री आवश्यक कारवाहीको बिओपी रानीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।