पाँचथरको कुम्मायक गाउँपालिका ५ का मेरुदण्ड पीडित ईश्वर चेम्जोङलाई प्रवासी युवाहरुले आर्थिक सहयोग गरेका छन् । कुम्मायक गाउँपालिकाबाट वैदेशिक रोजगारीको सिलसिलामा दोहा कतार पुगेका १५ जना युवाहरुले संयुक्त रुपमा संकलन गरेको ४६ हजार ८ सय ४१ रुपैयाँ पीडित परिवारलाई सहयोग गरेका हुन् ।
लामो समयदेखि ओछ्यानमै कष्टकर जीवन बिताउँदै आएका चेम्जोङको अवस्थाबारे सूचना पाएपछि रकम संकलन गरी पीडितलाई सहयोग गरेको कुम्मायक ५ घर भई हाल दोहा कतारमा रहेका समाजसेवी जितेन भण्डारीले बताए ।
युवाहरुले संकलन गरी पठाएको रकम कुम्मायक ५ का वडा अध्यक्ष यामबहादुर बोहोराले पीडित परिवारलाई जिम्मा दिएका छन् । रकम हस्तान्तरण गर्दै बोहोराले प्रवासमा दुःख गरेर कमाएको रकम पीडितको घरसम्म पठाएर सहयोग गरेको भन्दै प्रशंसा समेत गरेका छन् ।
पीडित परिवारलाई स्वदेश र विदेशबाट दाताहरुले रकम संकलन गरी सहयोग गर्दै आएका छन् ।