धरान । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने बताएकी छन् । उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताईन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले सो कुरा बताएकी हुन् । विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको उनले बताईन् । अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताइन् । भ्निन्, ‘सम्पन्न व्यक्तिहरु हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन ।’
गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको उनको भनाई छ । सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकिने गरिको सरकारले ‘एप्स’ निर्माण गर्ने मन्त्री राईले बताइन् । उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्ने समेत उनको भनाई छ ।
सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि प्रदेश सरकारले योजना बनाईरहेको जानकारी समेत दिईन् । कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । उनले महिला, बालबालिका, जेष्ठ नागरिक सम्बन्धि ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । सामाजिक विकास परिषद् गठनमा उनले जोड दिए ।
माईती नेपालका मोरङ संंयोजक विनोद पोखरेलले बलात्कार र मानव बेचविखनका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । एवीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले सामाजिक क्षेत्र सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताए । उनले अधिकारकर्मीलाई तत्काल खोपको व्यवस्थ ागर्न माग गरे ।