धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिइँदै आएको अन्तर–विभागीय रेफर ओपिडी सेवाको अतिरिक्त शुल्क हटाएको छ । 

प्रतिष्ठानमा बिरामी, स्थानीय बासिन्दा तथा सरोकारवालाबाट प्राप्त प्रतिक्रिया, गुनासो र सुझावका आधारमा हालको व्यवस्था प्रभावकारी नभएको ठहर गर्दै पुरानै प्रणालीमा फर्किने निर्णय गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले जानकारी दिएका छन् । 

डा. जगत अस्पताल निर्देशक भए पछि एउटा विभागबाट ओपिडी कार्ड लिएपछि चिकित्सकले अन्य विभागमा रेफर गर्दा पुनः कार्ड लिएर जाने व्यवस्था गर्दा सेवाग्राहीलाई झन्झट हुँदै आएको थियो । झन्झटिलो सेवाले पहाडी क्षेत्रका अधिकांश बिरामी अन्यत्र सेवा लिन जाँदै आएका छन् । 

सेवाग्राहीलाई मारमा परेको भन्दै नयाँ उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको निर्देशनमा अन्य विभागमा जान अरिरिक्त शुल्क स्थगित गरिएको हो । अब बिरामीले एक पटक लिएको ओपिडी पुर्जीलाई पहिले झैं १० दिनको समय अवधि नै कायम गरिएको छ । 

प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायणले बिरामीलाई झन्झट हुने निर्णय अर्को सूचना जारी नहुन्जेल स्थगित गरेको सूचना जारी गरेर अवगत गराएका छन् । तर स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको दैनिक दर्ता प्रणाली भने यथावत् रूपमा कायम रहेको प्रतिष्ठानले जनाएको छ ।