सिरहा । प्रदेश २ सरकारले सबै जिल्ला प्रशासन कार्यालयहरुका लागि बारुण यन्त्र (दमकल) खरिद गरेको छ । 

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका ८ जिल्ला र प्रदेश प्रहरीका लागि १ गरी ९ वटा दमकल खरिद गरेको हो ।

प्रति दमकलको मूल्य करिब ५३ लाख रुपैयाँका दरले खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए ।

खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ । ‘प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई एक–एक वटाका दरले दमकल उपलब्ध गराइनेछ,’ प्रवक्ता कुसवाहाले भने, ‘एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइनेछ ।’

कुसवाहाले चालु आर्थिक वर्षको बजेटमा दमकल उपलब्ध गराइएको बताए । खरिद गरिएका दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम पुगिसकेका छन् ।

प्रदेश सरकारले यसअघि ५ वटा बस किनेको थियो । बस किनेको आठ महिना पुग्दा समेत सञ्चालनमा आउन सकेको छैन ।