भद्रपुर । अनेरास्ववियु भद्रपुर नगर कमिटीले ५ बुँदे माग राख्दै भद्रपुर नगर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नगर कमिटीका इन्चार्ज सरोज ढकाल तथा संयोजक पवन धमला नेतृत्व टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई नगरको वजेट मै समेटेर शिक्षण सुधार कार्यक्रम ल्याउन माग राखी ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा नगर सरकारले कम्तीमा २० प्रतिशत रकम विनियोजन गर्नु पर्ने, भौतिक रूपमा विद्यालय सञ्चालन हुनु पूर्व कोभिड १९ विरूद्धको खोप लगाइनु पर्ने, कक्षा १२ सम्मको शिक्षा पूर्ण निशुल्क हुनु पर्ने, भद्रपुर नगर क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई अनिवार्य निशुलक विमा गरिनु पर्ने, नगर भित्रका सवै विद्यालयमा शुद्ध पिउने पानी प्रबन्ध हुनु पर्ने लगायत माग गरेर ज्ञापनपत्र बुझाइएको हो ।

अनेरास्ववियु भद्रपुर नगरकमिटी यस भद्रपुर नगरपालिकालाई अभिलम्ब तल उल्लेखित समसायिक शैक्षिक मुद्दाहरू सम्बोधन गरी भद्रपुर नगरक्षेत्र भित्रका विद्यार्थीहरूको उज्वल शैक्षिक भविष्य सुनिश्चित गर्न जोडदार माग ज्ञापनपत्रमा उल्लेख छ ।

वर्तमान सरकार आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माण तथा धोषणाको अन्तिम तयारीमा जुटेको छ , त्यसैले आगामी बजेटमा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिदै कूल बजेटको कम्तिमा २०% रकम छुट्याउनु पर्ने ,विद्यालय सञ्चालन अगाडी सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई अनिवार्य रूपमा कोभिड –१९ विरुद्ध खोप उपलब्ध गराउनु पर्ने, नेपालको संविधानको धारा ३१ को उपधार ( २ ) समावेश भए बमोजिम कक्षा १ देखि १२ अनिवार्य निःशुल्क शिक्षा कार्यान्वयन गर्न गराउन, भद्रपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई अनिवार्य र निःशुल्क स्वास्थ्य बिमाको प्रबन्ध गर्नुपर्ने र यस भद्रपुर नगरपालिकाका केही विद्यालयहरुमा अहिले पनि शुद्ध पिउने पानी र व्यवस्थित शौचालयको अभाव देखिएकोले विद्यालयमा पिउने पानी र व्यवस्थित शौचालयको व्यवस्थापनका लागि माग गरिएको छ ।