भद्रपुर / नेपालले एकतर्फी नाका सञ्चालन गर्ने निर्णय गरेपनि भारतीय एसएबसीले माथिको आदेश नआएको भन्दै भद्रपुर–गलगलिया नाका बन्द राखेको छ ।
गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित साबिक नाकाहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेपनि भारतले नमानेपछि झापाको भद्रपुर सीमा नाका सञ्चालनमा आउन नसकेको हो ।
भारतीय एसएबसीले जान आउन अनुमति नदिँदा मेची पुल पुगेका सर्वसाधारण निराश भएर फर्किएका थिए । बिहानै देखि खुसीले मेची पुल पुगेका सर्वसाधारणले स्थानीय तह र जिल्ला प्रशासनप्रति आक्रोस पोखेका थिए ।
सरकार र स्थानीय प्रशासनले गरेको एकतर्फि निर्णयका कारण दुःख पाएको भारत जान मेची पुलमा भेटिएका खड्ग प्रसाद दहालले बताए । प्रशासनले नाका खुलो भनेर सञ्चारमाध्याममा दिने अनि नाका बन्द गर्ने यो कस्तो निर्णय हो उनले भने ।
भद्रपुरका मेयर जीवन कुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको लापरबाहीले सर्वसाधारणले सास्ती व्यहोर्नु परेको पुलमा भेटिएका दिनेश भट्टराइले आरोप लगाए । आन्तरिक रुपमा छलफल गरेर मात्र सूचना सार्वजनिक गर्न उनले सुझाव दिएका थिए ।
भद्रपुर नाका खुलाउने विषयमा माथिबाट आदेश नआएको हुँदा नाका तत्काल बन्द राख्न भारतका इन्स्पेक्टर सत्यनारायण आदेश दिएको वुझिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले बताए ।
प्रशासन कार्यालय झापाले भारतका डिएम आशिसलाई नाका सञ्चालन गर्ने बारेको निर्णय पठाइसकेको प्रजिअ तिमिल्सिनाले बताए । उता निर्णय पठाएको हुदा भारत तर्फले केही दिनको समय मागेको उनले जनाए ।
नाका खुलाउँदा दुवै तर्फ हेल्थ डेस्क राख्नु पर्ने भएकोले दुवै देशका प्रशासन प्रमुृखहरुको उपस्थितिमा नाका सञ्चालन गर्ने विषयमा समेत कुराकानी भइरहेको सुरक्षाकर्मीको भनाइ छ । कोरोना महामारीले विगत १९ महिनादेखि भद्रपुर नाका सञ्चालनमा आएको छैन ।