पाँचथर, यासोक । पाँचथरको कुम्मायक गाउँपालिका—२ माङजबुङका राजकुमार शेर्मालाई दक्षिण कोरियामा रोजगारीको शिलशिलामा पुगेको युवाहरुले आर्थिक सहयोग गरेका छन ।
आर्थिक अभावका कारण थप उपचारमा समस्या भएपछि “कुम्मायक सरोकार मञ्च दक्षिण कोरिया” का युवाहरुले शेर्मालाई ५३ हजार ३ सय १२ रुपैयाँ सहयोग गरेका हुन । मञ्चमा आवद्ध युवाहरुले रकम संकलनको अभियान संचालन गरी शेर्माको परिवारलाई सो रकम हस्तान्त्रण गरेको बताएका छन ।
लामो समयदेखि मुटु रोगबाट पीडित भएका शेर्मा पछिल्लो समय मृगौला रोगबाट पनि पीडित भएका छन । एकपछि अर्को जटिल रोगबाट पीडित शेर्माको उपचारमा आर्थिक समस्या देखापरेपछि परिवारले सहयोगको याचाना गर्दै आएका थिए ।
उनको उपचारमा सहयोग रकम जुटाउँन “कुम्मायक सरोकार मञ्च द.कोरिया” मा आवद्ध ४७ जना युवाहरुले रकम संकलन गरी गायक ब्रविम सेर्मामार्फत रकम हस्तान्त्रण गरेको जनाएका छन । हाल उनको उपचार काठमाण्डौंको मनमोहन कार्डियोथेरापिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा हुदै आएको छ ।
प्रवासमा श्रम गरेरै भएपछि लामो समयदेखि युवाहरुले आर्थिक रुपमा बिपन्न समुदायका नागरिक र गम्भिर प्रकृतिका बिरामीलाई सहयोग गर्दै आएका छन ।