धरान । धरानका शिक्षासेवी गोकुलप्रसाद श्रेष्ठको आत्मकथा ‘अविश्रान्त यात्रा’ शनिबार धरानमा लोकार्पण भएको छ ।
सिद्धि नेवाः परिषद् धरानको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि भाषाविज्ञ प्रा.डा. टङ्कप्रसाद न्यौपाने, डा. दीपक न्यौपाने, कोशी प्रदेशका सदस्यद्वय रमेशकुमार बस्नेत, यशोदा कायस्थ, लेखक शिक्षासेवी गोकुलप्रसाद श्रेष्ठ, शिक्षासेवी लेखनाथ घिमिरे, सम्पादक भोजराज श्रेष्ठ र परिषद्का अध्यक्ष राजविमल श्रेष्ठले संयुक्तरूपमा विमोचन गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपानेले पञ्चायतकालीन अवस्थामा पनि गोकुल सरले कसैको पक्षमा नलागी तटस्थ बसेर समन्वयकारी भूमिका खेलेको बताए । उनले २०२५ सालदेखि शिक्षा सेवा प्रारम्भ गर्दा कुनै पनि विचारधारासँग नजिक नरहे पनि कालान्तरमा प्रजातान्त्रिक विचारधारातर्फ लागेको बताए । शिक्षासेवी श्रेष्ठले पञ्चायतकालमा पनि झापा, मोरङ, सुनसरीदेखि सप्तरीसम्म पुगेर आन्दोलनमा समन्वयकारी भूमिका निर्वाह गरेको डा. न्यौपानेले बताए ।
लेखक श्रेष्ठ २०२५ सालदेखि २०६५ सालसम्म शिक्षासेवामा समर्पित रहेका थिए भने त्यसपश्चात् सेवानिवृत्त भई उनी विभिन्न स्कुल तथा कलेजहरू स्थापना गरी शिक्षाक्षेत्रमै होमिएका थिए । वक्ताहरूले शिक्षासेवी श्रेष्ठले पञ्चायतजस्तो कठिन शासनकालमा पनि शिक्षक हितको पक्षमा लागेको बताए । पुस्तकको समीक्षा गर्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका विभागीय प्रमुखसमेत रहेका डा. दीपक न्यौपानेले पुस्तकमा आफ्नो कथा मात्रै नभई वंशावलीसमेत समेटेर तयार पारिएकाले पुस्तकले इतिहासलाई पनि कोट्याएको बताए । उनले हजुरबादेखि नातिसम्मका स–साना घटनाक्रमहरूलाई स्मरण गरेर तयार पारिएकाले पढ्न रमाइलो लाग्ने बताए ।
उनले शिक्षासेवीको रूपमा मात्रै नभई रमाइला घटनाक्रमहरू, सङ्घर्षका दौरानहरू, विदेशका कथाहरूसम्म आएकाले इतिहास अभिलेखीकरण पनि भएको बताए । उनले पढ्नलायक पुस्तक बनेको पनि बताए । तर, पुस्तकमा त्यतिबेलाको समाज, सामाजिक अवस्थाका बारेमा पनि थप आएको भए सुनमा सुगन्ध हुने उनले बताए ।
यस्तै पुस्तकका सम्पादक भोजराज श्रेष्ठले गोकुल सरको आत्मकथा हजुरबुबादेखि नातिसम्मको कथा र समाजको कथा रहेको बताए । उनले भूइँमान्छेको कथाको रूपमा आएको बताए । उनले पुस्तकको रूपमा प्रकाशित हुनुअघिसम्म कथाहरू गोकुल सरमा मात्र सीमित रहे पनि अब सार्वजनिक भइसकेपछि सार्वजनिक सम्पत्ति तथा समाजको सम्पत्तिको रूपमा रहेको बताए ।
यस्तै कोशी प्रदेश सांसद्द्वय रमेश बस्नेत र यशोदा कायस्थले शिक्षासेवी श्रेष्ठले यो उमेरमा पनि सक्रियता देखाएकोमा धन्यवाद ज्ञापन गरे । उनीहरूले शिक्षासेवी श्रेष्ठको आत्मकथा नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताएका छन् । पुस्तकका केही अंशहरू मात्रै पढे पनि पुस्तक पढ्नलायक र सङ्ग्रहणीय रहेको बताए ।
शिक्षासेवी लेखनाथ घिमिरेले श्रेष्ठसँगै शिक्षण गरेका दिनहरूको स्मरण सुनाए । उनले गोकुल सर शिक्षाको क्षेत्रका एक कुशल प्रशासक रहेको बताए । उनले गोकुल सरले शिक्षकहरूलाई गर्ने व्यवहार एकदमै समन्वयकारी रहेको बताए । यसैबीच शिक्षासेवी श्रेष्ठले सिद्धि नेवाः परिषद्, शिक्षा निकेतन मा.वि. र धौवारी समाजलाई अक्षयकोष स्थापनाका लागि क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद प्रदान गरे ।